तिहार सुरु भएसँगै धरानका सडकपेटी बत्तीको उज्यालो मात्र होइन, व्यापारीको परिश्रमले पनि जीवन्त बनेको छ । बिहानैदेखि सुरु हुने बजारको चहलपहल साँझसम्म निरन्तर देखिन्छ।
धरान उपमहानगरपालिका–२ का बिक्की दास बिहान ५ः०० बजेदेखि बेलुका ८ः०० बजेसम्म मुख्य बजार भानुचोक घण्टाघर क्षेत्रमा किसमिस, नरिवल, मिठाइ, झिलिमिली बत्ती र अबिरका प्याकेटहरू बिक्री गर्दै आएका छन् । उनले भने, “बिहान र साँझ उपभोक्ता बढी आउँछन् । दिउँसो गर्मी हुने भएकाले कम ग्राहक कम आउँछन् । अहिले दैनिक रु १५ देखि २० हजारसम्मको कारोबार भइरहेको छ ।”
अहिले बजारका हरेक सडकपेटीमा सयौँ व्यापारी व्यस्त छन् । दियो, रङ, मिठाइ, किसमिस, पूजाका लागि माटाका पाला, बत्तीलगायत तिहारमा आवश्यक पर्ने सामग्री बिक्रीले बजार रङ, सुगन्ध र झिलिमिलीले भरिएको छ ।
धरानका सडकहरू अहिले तिहारको रौनकले चम्किरहेका छन् । मुख्य बजारका साना व्यापारीहरू, जसमा मिठाइ, किसमिस, दियो र अबिर बेच्नेको सङ्ख्या बढी छ । दैनिक रु २० हजारसम्म कारोबार गर्दै स्थानीय व्यापारीले आफ्नो आम्दानी जुटाइरहेका छन् ।
तिहारका अवसरमा झिलिमिली चारैतिर देखिएको छ । किनमेल गर्ने सर्वसाधारणको घुइँचो लागेको छ । बत्ती, मिठाइ मसला र फूलहरूले बजार ढाकेको छ । दसैँपछि नेपालीको दोस्रो ठूलो पर्व भनेर चिनिने तिहारलाई साङ्गीतिक चाडसँगै फूल माला, रङ र उज्यालो पर्वका रूपमा लिने गरिन्छ ।












