२०८२, २८ कार्तिक बिहीबार | Fri Nov 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बालुवाटारमा प्रधानमन्त्री कार्की र शीर्ष दलबीच निर्वाचन एजेन्डामा केन्द्रित छलफल



काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूलाई समेटेर निर्वाचनबारे सहमति जुटाउने पहल थालेकी छिन्। मंगलबार अपराह्न बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रमुख राजनीतिक दलहरूका शीर्ष नेतासँग औपचारिक छलफल सुरू भएको छ।

निर्धारित समयभन्दा करिब ३० मिनेट ढिलोगरी साढे ४ बजे सुरू भएको बैठकमा सरकार पक्षबाट प्रधानमन्त्री कार्कीसँगै अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चारमन्त्री जगदीश खरेल र कृषिमन्त्री मदन परियार सहभागी छन्। त्यस्तै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनाल पनि उपस्थित छन्।

बैठकमा नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता प्रकाशशरण महत सहभागी छन्। नेकपा (एमाले)बाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली, नेकपा (माओवादी केन्द्र)बाट वर्षमान पुन र पम्फा भुसाल उपस्थित छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)तर्फबाट उपसभापति स्वर्णिम वाग्ले र सांसद सोविता गौतम छलफलमा छन् भने एकीकृत समाजवादीबाट वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र उपाध्यक्ष प्रकाश ज्वाला सहभागी भएका छन्। यसैगरी, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल, नेमकिपाका प्रेम सुवार, साथै रेशम चौधरी र चन्दन सिंह पनि बैठकमा सहभागी छन्।

यो बैठकलाई आगामी निर्वाचनको मिति, निर्वाचन तयारी, राजनीतिक सहमतिको वातावरण निर्माण र संवैधानिक प्रक्रियालाई अघि बढाउने विषयमा केंद्रित छलफलको रूपमा हेरिएको छ। प्रधानमन्त्री कार्कीले सरकार गठनपछि पहिलोपटक स्वयम् दलहरूलाई बालुवाटारमा छलफलका लागि बोलाएकी हुन्।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा शीतल निवासमा दलहरूसँग बैठक भए पनि ठोस निष्कर्ष ननिस्किएको भन्दै प्रधानमन्त्री कार्कीले पहल लिएको बताइन्छ। वर्तमान राजनीतिक अनिश्चितताको बीच आजको छलफललाई निर्णायक कदमका रूपमा राजनीतिक वृत्तले लिएको छ। बैठक जारी छ।

प्रकाशित मिति : २०८२, ५ कार्तिक मंगलबार ००:००  ५ : २२ बजे