२०८२, २८ कार्तिक बिहीबार | Fri Nov 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौँ उपत्यकामा मापसे जाँचमा कडाइ



काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) विरुद्ध विशेष अभियान सञ्चालन गरी जाँचमा कडाइ गरेको छ। विगतका वर्षहरूमा चाडपर्वका समयमा हुने सवारी दुर्घटनाको प्रमुख कारण मापसेलाई मानिँदै आएकाले यस वर्ष ट्राफिक प्रहरीले विशेष सतर्कता अपनाएको हो।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीको निर्देशनमा जनपद र ट्राफिक प्रहरीले आज बिहानैदेखि रातिसम्म उपत्यकाका मुख्य चोक, सडक र गल्लीहरूमा मापसे परीक्षण तथा कडाइका साथ अनुगमन गरिरहेको छ।

प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले भने, हाम्रो उद्देश्य दण्डित गर्नु होइन, चेतना जगाउनु हो। नागरिकले सुरक्षाको जिम्मेवारी आफैँ लिऊन् भन्ने सन्देशका साथ हामी सडकमा खटिएका छौँ। चाडपर्व सुरक्षित, मर्यादित र अनुशासित बनोस् भन्ने नै प्रहरीको अपेक्षा हो।

अभियानमा उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी आफैँ खटिएका छन्। उनले टोलीसहित त्रिपुरेश्वर, नयाँ बानेश्वर, कलङ्की, दरबारमार्ग, महाराजगञ्ज, गौशाला, चाबहिल, बल्खुलगायतका क्षेत्रमा सयौँ सवारीसाधनका चालकहरूको मापसे परीक्षण गरेका थिए।

प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले मापसेको कारण दुर्घटना नहोस् भन्ने मुख्य उद्देश्यका साथ दिनभर मापसे परीक्षणसँगै सडकमा सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिएको बताए। ट्राफिक प्रहरीले दसैँ, तिहारजस्ता पर्वमा मापसे गरी सवारी चलाउने प्रवृत्ति रोक्न गत वर्षभन्दा यस वर्ष थप कडाइ गरेको छ। ट्राफिक प्रहरीले मापसे नगरी सवारी चलाऔँ, सुरक्षित यात्रामा सबैको साथ दिऔँ नारासहित सडक प्रयोगकर्तामाझ पर्चा वितरण र माइकिङसमेत गरेको थियो।

प्रकाशित मिति : २०८२, ८ कार्तिक शुक्रबार ००:००  ११ : २९ बजे