प्रदेशको पर्यटन विकास र प्रवर्द्धनका लागि कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ मनाइरहेको छ । छिमेकी मुलुक भारत र तेस्रो मुलुकबाट १५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सुरु भएको पर्यटन वर्षको छ महिना पूरा गरिसकेको छ ।
भारतको बिहार घर भएका कमलेश शर्मा आफ्ना चार जनाको परिवारसहित एक सातादेखि नेपाल बसिरहेका छन् । ‘यसअघि पनि साथीहरूसँग घुम्न नेपाल आएको थिएँ, तर परिवारसँग पहिलोपटक नेपाल आएको छु’, इलामको कन्याममा भेटिएका उनले बताए।
उनका अनुसार अघिल्लो समयमा भन्दा यस वर्ष भ्रमण निकै सहज र रमाइलो भएको छ । आफूजस्तै अरु पनि थुप्रै भारतीय नागरिक नेपाल घुम्न रुचाउने शर्मा बताउँछन् । उनले सस्तो मूल्यमै स्तरीय होटलमा बस्न पाइएको बताए ।
सुरुआती तीन महिना वैशाख, जेठ र असारमा प्रदेश सरकारले पर्यटन वर्षको कार्यक्रम देखिए तापनि पछिल्ला तीन महिना पर्यटन प्रचारप्रसारसम्बन्धी कार्यक्रम न्यून देखिए । ‘कोशीको गौरव हिमालको शान, पर्यटन वर्षमा सबैलाई सम्मान’ भन्ने मूल नाराको साथ कोशी प्रदेश सरकारले ल्याएको उक्त कार्यक्रमलाई सरकार सँगसँगै निजी क्षेत्रको पनि उत्तिकै सहभागितामा पर्यटन वर्ष सफल बनाउन लागिरहेको कोशी पर्यटन वर्ष २०८२ का सहसंयोजक भविष श्रेष्ठ बताउँछन् । उनका अनुसार धार्मिक, प्राकृतिक, सांस्कृतिकसँगै शिक्षा, स्वास्थ्य, खेलकुदलगायत क्षेत्रका पर्यटक पनि आउने गरेका छन् ।












