अन्नपूर्ण हिमालको आधार शिविर नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकसित भएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र आरोहण सुरु हुने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्छ । समुद्री सतहदेखि चार हजार १५० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा छोटो दूरीमा सहजै पदयात्रामा पुगिने भएकाले पर्यटकको रोजाइमा परेको हो ।
पदमार्ग, पूर्वाधार निर्माण, खानेबस्ने सुविधा र प्रवर्द्धनात्मक कार्यक्रमपछि आधार शिविरमा चालु शरदयाममा नसोचेको सङ्ख्यामा पर्यटक आएका अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए । “अन्नपूर्ण हिमाल र आधार शिविरको भूगोल म्याग्दीमा पर्ने तथ्य स्थापित भएर त्यहाँसम्म पुग्ने पदमार्ग तयार र प्रवर्द्धनका कार्यक्रमपछि यो याममा अपेक्षा गरेभन्दा धेरै पर्यटक आउनुभयो” उनले भने, “युवापुस्ताको रोजाइमा अन्नपूर्ण आधार शिविर परेको छ ।”
दसैँलगत्तै आधार शिविरमा दैनिक दुई सयदेखि पाँच सय जनासम्म पर्यटक आइरहेका अध्यक्ष पुनले बताए । आधार शिविरमा दुई वर्षअघिसम्म वसन्त याममा हेलिकप्टरमार्फत आरोहीहरू मात्र पुग्ने गर्दथे । पदमार्गमा रहेका होटलको क्षमताभन्दा बढी सङ¬्ख्यामा पाहुना आएकाले व्यवस्थापनमा समस्या भएको व्यवसायीले बताएका छन् ।












