२०८२, २८ कार्तिक बिहीबार | Fri Nov 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छायाँनाथ राराले निर्माण गर्यो ९ वटा विद्यालय भवन, उद्घाटनको तयारी तीव्र



शिक्षा पूर्वाधार सुदृढीकरणमा जोड दिँदै मुगुको छायाँनाथ रारा नगरपालिकाले नौ वटा नयाँ विद्यालय भवन निर्माण सम्पन्न गरेको छ । अब केही दिनभित्रै ती सबै विद्यालय भवनहरूको उद्घाटन गर्ने तयारी गरेको छ ।

नगरपालिकाको समानिकरण बजेटबाट निर्माण भएका ९ वटा भवनहरू मध्ये कतिपय दुई तले र कतिपय एक तले संरचना रहेका छन् । नगरपालिकाका अनुसार दुई तले चार कोठे भवनको लागत करिब ६५ लाख रुपैयाँ, भने एक तले तीन कोठे भवनको लागत करिव ३४ लाख रुपैयाँ रहेको छ ।

नगरपालिकाको लगानीमा बनेका नौवटै विद्यालय भवन मंसिर महिनाभित्र औपचारिक रूपमा उद्घाटन गरिने नगर प्रमुख वृष्णु कुमार भामले अनलाइन सरोकारलाई बताउनु भयो । उहाँका अनुसार विद्यालय भवनहरूको निर्माण सम्पन्न भइसकेको र अहिले सजावट र रङरोगनको अन्तिम तयारी भइरहेको छ ।

निर्माण सम्पन्न विद्यालयहरू वडा नं. १४ स्थित हिमोदय माध्यमिक विद्यालयमा ४ कोठे दुई भवन, वडा नं. ४ मा मालिका आधारभूत विद्यालयमा २ तले ४ कोठे एक भवन, वडा नं. ६ मा मुन्दु आधारभूत विद्यालयमा एक तले २ कोठे एक भवन, सोही वडामा टलिबालाई आधारभूत विद्यालयमा २ तले ४ कोठे एक भवन, वडा नं. १० मा एक तले २ कोठे एक भवन, वडा नं. १३ मा एक तले २ कोठे एक भवन र रारा बहुमुखी क्याम्पसमा ४ कोठे दुई भवन निर्माण सम्पन्न भएका छन् ।


नगरपालिकाले स्थानीयस्तरमा शिक्षाको पहुँच र गुणस्तर सुधार गर्नका लागि विद्यालय भवन निर्माणलाई प्राथमिकतामा राख्दै आएको छ । यी नयाँ भवनहरू निर्माण भएपछि दुर्गम क्षेत्रमा अध्ययनरत विद्यार्थीहरूले सुरक्षित, आकर्षक र आधुनिक भवनमा पढ्न पाउने अवसर प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : २०८२, १४ कार्तिक बिहीबार ००:००  २ : १९ बजे