भारी हिमपात र बाढी पहिरोले सडकमार्ग, बिजुली र इन्टरसेवाबाट उपल्लो मुस्ताङ विच्छेद हुन पुग्दा साढे पाँच सयभन्दा धेरै पर्यटक र १०० भन्दा धेरै गाडी उतै रोकिएका छन् । उपल्लो मुस्ताङ जाने राष्ट्रिय गौरवको जोमसोम-कोरला सडकखण्ड ठाउँ ठाउँमा भासिंदा र पहिरो खस्दा छियाछिया बनेको छ ।
वर्षासँगै परेको हिमपातका कारण बागबेनी कटेर छुसाङदेखि माथि सडक, बिजुली र इन्टेरनेटसमेत अवरुद्ध हुन पुगेको हो । लोमान्थाङलगायत उपल्लो मुस्ताङका बस्तीहरुमा ११/१२ गतेदेखि नै सडक र सञ्चारसम्पर्क विच्छेद हुन पुगेको हो भने शनिबारदेखि छुसाङ र दामोदरकुण्ड क्षेत्र सम्पर्कविच्छेद भएको हो ।












