२०८२, २८ कार्तिक बिहीबार | Fri Nov 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिँजा गाउँपालिका ‘सुस्वा’ मूल्यांकनमा पहिलो



जुम्ला जिल्लाको सिँजा गाउँपालिकाले ‘सुस्वा’ मूल्यांकनमा पहिलो स्थान हासिल गरेको छ। सुस्वा अन्तर्गत जिल्लाका २८ वटा पालिकाबीच भएको प्रतिस्पर्धात्मक मूल्यांकनमा सिँजा गाउँपालिकाले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान प्राप्त गरेको हो।

सुस्वा परियोजनाअन्तर्गत सञ्चालित खानेपानी आयोजनामा सिँजा गाउँपालिकाले अनावश्यक कर्मचारी नराखी, पारदर्शी ढंगले कार्य सम्पन्न गरेको बताइएको छ। जेष्ठ नागरिक र बालबालिकालाई काममा संलग्न नगरी, सकृय र कार्यक्षम जनशक्तिलाई प्रयोग गरेर समयमा योजना सम्पन्न गरेकोमा गाउँपालिकाले उक्त स्थान हासिल गरको हो।

गाउँपालिकाले स्थानीय बासिन्दालाई स्वच्छ र गुणस्तरीय खानेपानी वितरण गर्न सफल भएको छ। यही कार्यक्षमता र पारदर्शिताका आधारमा सिँजा गाउँपालिका सुस्वा मूल्यांकनमा पहिलो स्थानमा परेको गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले अनलाइन सरोकारलाई बताउनुभयो।

अध्यक्ष धितालले जनप्रतिनिधि, कर्मचारी तथा सम्पूर्ण सिँजावासीहरूलाई बधाई दिँदै यस सफलतामा सबैको साझा योगदान रहेको उल्लेख गर्नुभयो। उनले सुशासन, पारदर्शिता र विकासलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता पनि जनाउनुभयो।

सुस्वा खानेपानी योजना, नेपाल सरकार, युरोपियन युनियन लगायतका साझेदारहरूको आर्थिक सहयोगमा सञ्चालित खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको हो। यस योजनाबाट हाल ३६८ घरधुरीमा खानेपानी वितरण गरिएको छ भने संघ, प्रदेश र स्थानीय सरकारको संयुक्त लगानीमा हाल सम्म करिब १,६०० घरधुरीमा खानेपानी वितरण गरिएको गाउँपालिकाले जनाएको छ। साथै, थप १,००० घरधुरीमा खानेपानी वितरणको तयारी भइरहेको छ।
यसैबीच, सिँजा गाउँपालिका सुस्वा मूल्यांकनमा पहिलो भएको अवसरमा गाउँपालिकालाई १० प्रतिशत बजेट थप गर्ने र जनप्रतिनिधि तथा कर्मचारीहरूलाई नेपालको कुनै पर्यटकीय स्थलमा आन्तरिक भ्रमणमा पठाउने निर्णय गरिएको छ।

प्रकाशित मिति : २०८२, १७ कार्तिक आइतबार ००:००  ५ : ३१ बजे