सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकाले विभिन्न स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ चारदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । हेलम्बु प्राथमिक अस्पतालमा भै रहेको उक्त शिविर कार्तिक १७ गते देखि २० गते सम्म संचालन हुने छ ।
हेलम्बु गाउँपालिकाको मुख्य आयोजना र अन्य सहयोगी संस्थाको सहकार्यमा शिविर सञ्चालन गरिएको हो।

शिविरमा दन्त उपचार (दात भर्ने, उखाल्ने, सफा गर्ने), मुखको स्वास्थ्य परीक्षण, स्त्री रोग, छाला रोग, सामान्य स्वास्थ्य परामर्श, जेनरल फिजिसियन सेवा, औषधि वितरण लगायतका निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन ह्योल्मोले अनलाइन सरोकारलाई बताउनुभयो। साथै, शिविरमा दाँत माज्ने ब्रस , कोलगेट र विभिन्न औषधिहरु समेत निःशुल्क वितरण गरिएको छ ।
पाठेघरको मुखको क्यान्सर परीक्षणदेखि लिएर सामान्य रोगको उपचारसम्मका सेवा उपलब्ध गराइएको यस शिविरले स्थानीय बासिन्दाहरूमा स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्न मद्दत पु¥याएको छ।
स्वास्थ्य शाखा प्रमुख मुकेश भट्टराईका अनुसार, हिजो मात्र १३३ जनाले सेवा लिएका थिए र आज पनि उत्तिकै संख्यामा सेवाग्राहीको घुइँचो लागेको छ। उहाँका अनुसार आर्थिक रूपमा विपन्न दीर्घ रोगीहरूले औषधिको बिल पेश गरेमा गाउँपालिकाबाट भुक्तानीको व्यवस्था समेत शिविरमा गरिएको छ । गाउँपालिकाले दीर्घ रोगीहरूका लागि वार्षिक रूपमा करिब एक करोड रुपैयाँ उपचार खर्च सहयोग गर्दै आएको छ ।

भट्टराईले गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा गरको कामको बारेमा जानकारी दिदै , “हेलम्बु गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा निरन्तर सुधार र सेवा विस्तारका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। गर्भवती र सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा, स्वास्थ्य संस्था देखि घरसम्म पुर्याउने व्यवस्था, पौष्टिक आहार वितरण, सुनौलो हजार दिन कार्यक्रम अन्तर्गत २४ महिनासम्म बालबालिकाको तौल परीक्षण लगायत अस्पतालमा सुत्केरी भएको अवस्थामा प्रति सुत्केरी महिलालाई पौष्टिक आहारको लागि ६ हजार भन्दा माथि आथिर्क सहयोग गर्दै आएको छ । यस्ता खालका कार्यहरू नियमित रूपमा हुँदै आएका छन्।

हाल गाउँपालिकामा पाँच वटा स्वास्थ्य चौकी, दुई वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र, दुई वटा सामुदायिक स्वास्थ्य इकाइ र दुर्गम वडाहरूमा स्थापना भएका स्वास्थ्य केन्द्रमार्फत सेवा उपलब्ध भइरहेको छ ।
हेलम्बु गाउँपालिकाको यो प्रयासले स्थानीयस्तरमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्दै नमुना गाउँपालिकाको पहिचान थप बलियो बनाएको छ।












