२०८२, १ पुस मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उद्योग वाणिज्य संघ वालिङको आयोजनामा माघ १४ देखि २५ सम्म वालिङ महोत्सव हुँदै



स्याङ्जा वालिङ उद्योग वाणिज्य संघ वालिङले आगामी माघ १४ देखि २५ गतेसम्म नवौं संस्करणको वालिङ महोत्सव आयोजना गर्ने भएको छ । “हाम्रो गौरव, हाम्रो सान, वालिङ महोत्सव हाम्रो पहिचान” भन्ने मूल नाराका साथ वालिङ खेलमैदानमा सञ्चालन हुने यो महोत्सव गण्डकी प्रादेशिक कृषि, पर्यटन, सांस्कृतिक तथा व्यापार मेला–२०८२ का रूपमा आयोजना गरिने भएको छ ।
२०६३ सालदेखि निरन्तर आयोजना हुँदै आएको वालिङ महोत्सव गण्डकी प्रदेशकै सर्वाधिक दर्शक तान्ने महोत्सवका रूपमा परिचित छ । यसले स्थानीय व्यवसाय, संस्कृति र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिँदै आएको आयोजक संघले जनाएको छ ।
संघले विगतका संस्करणहरूबाट प्राप्त आम्दानीबाट संस्थाको भौतिक र संस्थागत विकासमा लगानी गर्दै आएको छ । गत आठौं संस्करणमा वंगलामुखी एम्युजमेण्ट प्रा.लि.ले करिब ८० लाख रुपैयाँमा ठेक्कामा सञ्चालन गरेको थियो भने यस पटक झण्डै १ करोड रुपैयाँभन्दा माथिको ठेक्काको तयारी भइरहेको बुझिएको छ ।
तर, स्थानीयवासीहरूले महोत्सवको मौलिकता र पहिचान हराउने खतरा रहेको भन्दै यसपटक स्टल र वालउद्यान मात्र ठेक्कामा दिएर सांस्कृतिक तथा मौलिक कार्यक्रम स्वयं आयोजकले सञ्चालन गर्नुपर्ने माग गरेका छन् ।
त्यस्तै, संघका पूर्वअध्यक्ष तथा पदाधिकारीहरूले पनि महोत्सव पारदर्शी ढंगले प्रतिस्स्पर्धाका आधारमा ठेक्कामा दिने गरी सञ्चालन गर्न र वालिङको सांस्कृतिक पहिचान र आन्तरिक पर्यटन प्रवर्द्धनमा जोड दिन आग्रह गरेका छन् ।
विगतमा चर्चित ‘घुमाउने घर’ जस्ता मौलिक आकर्षणले वालिङ महोत्सवलाई विशेष बनाएको स्मरण गर्दै उनीहरूले यस पटक पनि मौलिकता र नवीनताको सन्तुलन कायम गर्न सुझाव दिएका छन् ।
वालिङ महोत्सव अब केवल व्यापारिक मेला होइन, सांस्कृतिक चेतना र स्थानीय गौरवको प्रतीकका रूपमा पहिचान जोगाउँदै अघि बढ्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८२, २६ कार्तिक मंगलबार ००:००  ८ : २८ बजे