२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिल्ली विस्फोटमा मारिनेको संख्या १२ पुग्यो



भारतको राजधानी दिल्लीस्थित लालकिल्ला मेट्रो स्टेसननजिकै सोमबार साँझ भएको विस्फोटमा मृत्यु भएकाको संख्या १२ पुगेको छ । भारतीय पत्रिका दैनिक भास्करका अनुसार १२ मृतकमध्ये २ महिला छन् ।

जसमध्ये दुई जनाको शव पहिचान भइसकेको छ भने बाँकीको डीएनए परीक्षण जारी छ । विस्फोटमा परी घाइते भएका २० जनाको उपचार भइरहेको छ । स्थानीय समयअनुसार सोमबार साँझ ६ः५२ बजे लालकिल्ला मेट्रो स्टेसनको गेट नम्बर १ नजिकै गुडिरहेको कारमा शक्तिशाली विस्फोट भएको थियो । विस्फोटमा प्रयोग गरिएको सेतो आई२० कारको सीसीटीभी फुटेज पनि मंगलबार सार्वजनिक भएको छ ।

मेट्रो स्टेसन पार्किङबाट बाहिर निस्कँदै गरेको त्यो कारमा कालो मास्क लगाएका एक व्यक्ति बसिरहेको देखिएको छ। उनको नाम पुलवामाका निवासी डा. मोहम्मद उमर नबी रहेको बताइएको छ । प्रहरी स्रोतका अनुसार उमरले आफैँ मर्नेगरी विस्फोटक गराएका थिए ।

कश्मीर प्रहरीले डीएनए परीक्षणका लागि पुलवामामा उनका आमा र दुई भाइलाई हिरासतमा लिएको छ । प्रारम्भिक प्रहरी अनुसन्धानले विस्फोटमा अमोनियम नाइट्रेट, इन्धन र डेटोनेटर प्रयोग गरिएको पाइएको छ ।

यसैबीच दुईदिने भ्रमणमा क्रममा भुटान पुगेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्ली विस्फोटमा मारिएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले भने, ‘सिंगो देश दिल्ली विस्फोटबाट पीडित परिवारहरूको साथमा उभिएको छ । दोषीहरूलाई छाडिने छैन ।’

प्रकाशित मिति : २०८२, २६ कार्तिक मंगलबार ००:००  २ : १५ बजे