२०८२, २८ मंसिर शनिबार | Sat Dec 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रामप्रसाद राई गाउँपालिकाले विद्यालयमा सेनेटरी प्याड मेसिन धमाधम जडान गर्दै



भोजपुरको रामप्रसाद राई गाउँपालिकाले छात्राहरुको स्वास्थ्य र सुविधालाई लक्षित गर्दै विद्यालयमा स्वचलित ‘सेनेटरी प्याड’ वितरण मेसिन जडान गर्न थालेको छ । महिनावारीको समयमा छात्रालाई सहजता र आत्मविश्वासका साथ विद्यालय आउन प्रोत्साहन गर्ने उद्देश्यले मेसिन जडान गरिएको हो ।

गाउँपालिकाले हालसम्म बाह्र सामुदायिक विद्यालयमध्ये नौ विद्यालयमा मेसिन जडान गरिसकेको र बाँकी विद्यालयमा चाँडै जडान गरिने गाउँपालिकाका अध्यक्ष थामबहादुर राईले जानकारी दिनुभयो । “अघिल्ला वर्षमा हामीले विद्यालयमा सेनेटरी प्याड पठाउने गथ्र्यौं,” अध्यक्ष राई भन्नुभयो, “तर धेरै छात्राले लाजका कारण मागेर प्रयोग गर्न हिचकिचाउने गर्थे । अब यो मेसिनबाट उनीहरूले सहजै र गोप्य रूपमा आफैँले लिन सक्नेछन् ।” गाउँपालिकाले पहिलो चरणमा सात माध्यमिक विद्यालय र पाँच आधारभूत विद्यालयमा यस्तो मेसिन जडान गर्ने योजना बनाएको छ । मेसिनमार्फत कार्ड प्रणालीको प्रयोग गरी छात्राले आवश्यक सेनेटरी प्याड विद्यालयमा नै लिन सक्नेछन् ।

शिक्षा शाखाका अनुसार, महिनावारीका कारण छात्राको विद्यालयमा उपस्थिति दर घट्ने समस्या समाधान गर्न यो योजना प्रभावकारी हुनेछ । मेसिन जडान भएपछि छात्रालाई आत्मसम्मानका साथ विद्यालय आउन सहयोग पुग्ने शाखाले जनाएको छ । विद्यालयमा नै प्याड वितरण भएसँगै छात्राको उपस्थितिको दर बढ्ने शाखाको विश्वास छ । गाउँपालिकाले आगामी चरणमा अन्य विद्यालयमा यस्ता मेसिन जडान गर्ने, साथै विद्यार्थीका लागि सचेतना कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ ।

प्रकाशित मिति : २०८२, २८ कार्तिक बिहीबार ००:००  ४ : ५६ बजे