२०८२, ३० मंसिर सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

न्युक्यासल स्वयंसेवी अवार्ड लगातार दुई पटक जित्ने पहिलो नेपाली बने प्रवेश पौडेल



अष्ट्रेलियामा बसेर नेपाली समुदायको नाम उकास्ने काममा अग्रसर रहेका प्रवेश पौडेलले न्युक्यासल स्वयंसेवी सेवा पुरस्कार २०२५ प्राप्त गरेका छन् । बहुसांस्कृतिक समाजमा स्वयंसेवी भएर उत्कृष्ट काम गरेको भन्दै अष्ट्रेलियाकी प्रतिनिधि सभाका उपसभामुख (डेपुटी स्पीकर) समेत रहेका न्यूक्यासलका संघीय सांसद शेरोन क्लेडनले नेपाली युवा पौडेललाई न्युक्यासल स्वयंसेवी सेवा पुरस्कार २०२५ प्रदान गरेकी हुन् ।

यो अवार्ड अष्ट्रेलियामा अत्यन्तै मान प्रतिष्ठाको रूपमा हेरिन्छ, र संघीय उपसभामुखकै हातबाट लगातार दुई वर्ष यो सम्मान प्राप्त गर्ने पौडेल पहिलो नेपाली बनेका छन्।


२०१७ मा नेपालबाट अध्ययनका लागि अष्ट्रेलिया पुगेका पौडेलले दुई फरक विषयमा डिग्री हासिल गरेका छन्। अध्ययनसँगै उनी निरन्तर सामाजिक सेवामा सक्रिय रहँदै आएका छन्।
उनको योगदानको कदर गर्दै उपसभामुख क्लेडनले औपचारिक पत्रमार्फत अवार्ड ग्रहण गर्न आमन्त्रण समेत गरेकी थिइन्।
एक भव्य समारोहबीच अवार्ड ग्रहण गर्दा पौडेलले आफूले गरेको स्वयंसेवी प्रयासलाई राज्यस्तरबाटै मान्यता पाउनु नेपाली समुदायकै गर्वको विषय भएको अनलाइन सरोकारलाई बताए ।
पौडेल Hunter Multicultural Communities (HMC) मा तीन वर्षदेखि सक्रिय सदस्य रहँदै आएका छन्। हालै उनी संस्थाको बोर्ड सदस्यमा निर्वाचित भएका छन्।
करिब ५० वर्षे इतिहास भएको HMC को बोर्डमा पहिलो पटक कुनै नेपाली प्रतिनिधि प्रवेश पाउनु ठूलो उपलब्धि मानिएको छ ।

HMC, न्यूकासल, सेन्ट्रल कोस्ट र हंटर क्षेत्रकै सबैभन्दा ठूलो गैर–नाफामूलक संस्थामध्ये एक हो, जसले आप्रवासी, युवाहरू, शरणार्थी तथा ज्येष्ठ नागरिकका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्छ।

बिहीबारको दिन पौडेल प्रायः पुरै समय हंटर मल्टीकल्चरल सेन्टरको कम्युनिटी प्रोग्राममा बिताउँछन्।
बुढापाका, जेष्ठ नागरिक र आमा–बाबुलाई स्थानीय क्षेत्र घुमाउन लैजाने, बसमा चढाउने–ओराल्ने, सीट बेल्ट लगाइदिनेदेखि लन्चमा सहयोग गर्नेसम्मका सबै कार्य उनी स्वयंसेवकका रूपमा गर्छन्।

“हप्ताको एक दिन समुदायलाई समर्पित गर्दा अपूर्व आत्मसन्तुष्टि मिल्छ,” अनलाइन सरोकार संग कुरा गर्दै पौडेल भन्छन्।
स्वयंसेवामा सक्रियता, नेतृत्व क्षमता र निरन्तर समर्पणका कारण उनी हंटर क्षेत्रमा परिचित बहुसांस्कृतिक स्वयंसेवकको रूपमा चिनिन थालेका छन्।

लामो समय बैंकिङ र अकाउन्टिङ क्षेत्रमा काम गरेका पौडेल अहिले सेभेन फाइनान्स एण्ड होम लोनका सीनियर क्रेडिट एनालिस्टका रूपमा कार्यरत छन्।
यस संस्थाले अष्ट्रेलियामा सयौँलाई घर खरिदमा सहयोग गर्दै आएको छ।
साथै, पौडेल क्लिक कन्सल्टिङ, न्युकासलसँग पनि आवद्ध छन्, जहाँ विद्यार्थीलाई शिक्षा, भिसा तथा करियर रेडी प्रोग्राममार्फत सहयोग गरिन्छ।

समुदायप्रतिको समर्पण, नेतृत्व कौशल, उद्यमशीलता र सामाजिक सेवामा सक्रियताका कारण प्रवेश पौडेलले प्राप्त गरेको लगातार सम्मानले अष्ट्रेलियामा नेपाली समुदायको पहिचान र सम्मानको स्तर अझ उकासेको छ ।
उनको उपलब्धिलाई स्थानीयदेखि अन्तर्राष्ट्रिय नेपाली समुदायले गर्वका साथ हेरिरहेको छ।

प्रकाशित मिति : २०८२, ४ मंसिर बुधबार ००:००  १० : ३७ बजे