२०८२, ३० मंसिर सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शंकर र महेश बस्नेतलाई बोकेर धावनमार्गतर्फ अगाडि बढेको बुद्ध एयरको जहाज पार्किङतिरै



एमालेको मधेस प्रदेशस्तरीय युवा भेलाका निम्ति महासचिव शंकर पोखरेल, युवा इञ्चार्ज महेश बस्नेतसहितका नेता आउने भएपछि जेन–जी समूहले विमानस्थलमै विरोध प्रदर्शन गरेको छ ।

काठमाडौंबाट बुद्ध एयरको १०ः३५ को उडानबाट उनीहरू सिमरा आउने खबर पाएपछि जेन-जी समूह प्रदर्शनमा उत्रिएको हो । बाराको परवानीपुरमा प्रदेशस्तरीय भेलाका निम्ति मधेसका सबै जिल्लाबाट युवा जम्मा भइसकेका छन् ।

पार्टी महासचिव शंकर पोखरेलले उद्घाटन गर्ने उक्त भेलामा पोखरेलसहितका नेतालाई सहभागी हुनै नदिने भन्दै जेन-जी समूहले प्रदर्शन गरेको हो ।

काठमाडौंबाट निर्धारित समयमै उडानका निम्ति धावनमार्गतर्फ अगाडि बढेको बुद्ध एयरको जहाज पार्किङतिरै फर्किएको छ । सबै यात्रुलाई जहाजबाट उतारेर अर्को सूचना नभएसम्म उडान हुने बुद्ध एयरले जनाएको छ । प्रदर्शनकारीहरु धावनमार्गमै पुगेपछि असुरक्षाका कारण काठमाडौंबाटै विमान उड्न नसकेको हो ।

अहिले प्रदर्शनकारीहरू सिमरा विमानस्थलको धावनमार्गमै प्रदर्शन गरिरहेको पत्रकार वेद भट्टले बताए । प्रहरी स्रोतका अनुसार एमाले महासचिव पोखरेल र उक्त पार्टीका अन्य नेता विमानबाट ओर्लिने बित्तिकै कालोमोसो दलेर बजार घुमाउने योजना जेन-जी समूहले बनाएको र यथेष्ट सुरक्षा व्यवस्था नभएसम्म त्यहाँ नआउन भनिएको छ ।

महासचिव पोखरेल चढेकै विमानबाट सिमरातर्फ जाँदै गरेका पत्रकार राजन कुइँकेलले आफूहरुलाई विमानबाट उतारिएको भनी फेसबुकमा स्ट्याटस अपलोड गरेका छन् ।

प्रकाशित मिति : २०८२, ४ मंसिर बुधबार ००:००  १२ : ४२ बजे