कोशी प्रदेशमा कांग्रेस सांसद महेश बस्नेतमाथि भएको आक्रमण प्रयासप्रति नेपाली कांग्रेसका युवा नेता बाबुराम आचार्यले कडा प्रतिक्रिया व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत घटनाको कडा निन्दा गर्दै सरकार नै नागरिकको आधारभूत स्वतन्त्रता सुनिश्चित गर्न असफल हुँदै गएको आरोप लगाएका छन्।
आचार्यले आफ्नो स्टाटसमा लेखेका छन् :
‘कुनै पनि नागरिकलाई शान्तिपूर्ण रूपमा हिँडडुल, बोल्न र लेख्न पाउने अधिकार लोकतन्त्रको मेरुदण्ड हो। तर अहिले विभिन्न नामका अपराधिक समूहहरूले यी अधिकारमाथि प्रतिबन्ध लगाउने प्रयास गरिरहेका छन्, जुन संविधान र लोकतान्त्रिक मूल्यका लागि अत्यन्त हानिकारक छ।’उनले पूर्वप्रधान न्यायाधीश तथा हालकी प्रधानमन्त्री शुसीला कार्की नेतृत्वको सरकारप्रति प्रश्न उठाउँदै भने, ‘जेनजीका सुशासनका माग पूरा गर्दै शांतिपूर्ण निर्वाचन गराउने जिम्मा पाएको सरकारले राजनीतिक कार्यकर्तालाई स्वतन्त्र रूपमा हिँड्ने–बोल्ने वातावरण नै बनाउन सकेन भने चुनावमा उम्मेदवार को बन्ने ?
आचार्यले कार्की सरकारलाई कडा शब्दमा चेतावनी दिंदै भने,
‘यदि नागरिकको प्राथमिक अधिकार सुरक्षित गर्न सकिँदैन भने तपाईं २०७४ सालमा “५ दिनमै भ्रष्टाचार हटाउँछु” भन्दै हावामै चुनाव जितेका केपी ओलीभन्दा पनि हावा सावित हुनुहुनेछ।’
उनले अझै थपे,
‘जेनजीले नै तपाईंलाई राजीनामा मागिसकेको अवस्थामा नागरिकलाई सुरक्षित वातावरण दिन नसक्ने प्रधानमन्त्री बसेर फाइदा छैन। यदि स्वतन्त्र रूपमा हिँड्ने, बोल्ने र लेख्ने वातावरण बनाउन सकिँदैन भने तुरुन्त राजीनामा दिनुस्।’
आचार्यले आगामी फागुन २१ गते वा सो भन्दा केही सरेर भए पनि निर्वाचन अवश्य हुने स्पष्ट गर्दै सरकारलाई पहिलो दायित्व—सुरक्षित, स्वतन्त्र र भयमुक्त वातावरण सुनिश्चित गर्न आग्रह गरेका छन्।
अन्त्यमा उनले लेखे :
‘महेस बस्नेतमाथिको आक्रमण जसले गरे पनि निन्दनीय छ। लोकतन्त्रका सामान्य आवश्यकतासमेत पूरा गर्न नसक्ने सरकारलाई जनताले अन्तर्राष्ट्रिय हावा भनेर टिप्पणी गर्न थालेका छन्। जिम्मेवारी पूरा गर्नुस्, नत्र पद त्याग्नुस्। जय नेपाल१’












