कुलमान घिसिङ सुशीला कार्की नेतृत्वकोे सरकारका एकजना प्रभावशाली मन्त्री हुन् । ऊर्जा, सहरी विकास, भौतिक पूर्वाधार गरी तीन मन्त्रालय उनले सम्हालेका छन् । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हुँदा घिसिङलाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले हटाएको थियो । सँगै उनले त्यतिबेला सरकारलाई धन्यवाद दिएका थिए ।
सरकारलाई धन्यवाद दिनुको कारण थियो, ‘उनी सक्रिय राजनीतिमा होमिने निष्कर्षमा पुगिसकेका थिए ।’ मध्यपूर्व, युरोप र अमेरिकामा रहेका नेपाली समुदायलाई भेटेर उनले ‘मिसन ०८४’ चलाइसकेका थिए ।
तर, त्यहीबेला नेपालमा दुई दिने हिंसात्मक–ध्वंसात्मक प्रदर्शनीले सत्ता नै उलटपुलट पारिदियो । भदौ २३ र २४ गते भएको आन्दोलनले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा सरकार गठन भयो ।
त्यसअघि आन्दोलनमा सक्रिय युवाहरूको टिमले ‘डिस्कर्ड’मा गरेको छलफलमा पनि अन्तरिम सरकारको नेतृत्वमा कुलमानलाई अघि सार्नुपर्ने आवाज उठेको थियो ।
घिसिङ निकट एक उच्च अधिकारीले भने, ‘‘उहाँ सक्रिय राजनीतिको तयारीमा हुनुहुन्थ्यो । विशेष परिस्थिति उत्पन्न भयो । यहीबेला सरकारमा सहभागी हुन उहाँलाई अनुरोध भयो । उहाँले पनि सहजै स्वीकार गर्नुभयो ।”
ती अधिकारीका अनुसार, घिसिङले भदौ २३ र २४ गते भएको आन्दोलनलाई सामान्यीकरण गराउन विशेष भूमिका खेलेका थिए ।
नेपालमा लामो समयदेखि कायमै रहेको लोडसेडिङ अन्त्य गराउने भूमिका उनै घिसिङले खेलेका थिए । घिसिङ पहिला पनि पार्टीमा सहभागी हुने चर्चा चलेको थियो ।
तर सफल भएनन् ।
“कैयौँ प्रस्ताव हामीले स्वीकार गर्न नसकिने थिए, कति छलफल भएका पार्टीले स्वीकार गरेनन्,” उनी निकट स्रोतले भन्यो ।
रास्वपासँग बढी नजिक भएर पटक–पटक वार्ता भए पनि निष्कर्षमा भने पुग्न सकेन ।
“उहाँहरू (रास्वपा) बाट बारबार प्रस्ताव आएकै हुन्, तर प्रस्ताव लिएर आउनेहरू नै पछि हराउनुभयो । उहाँहरू अलि अलमलमा परेजस्तो लाग्यो, अनि आफ्नै पार्टी बनाउने अभियानमा लाग्नुभयो,” घिसिङ नकिजका एक अधिकारीले मंगलबार भने ।
रास्वपासँग कुरा नमिलेपछि उनी आफ्नै पार्टी बनाउने निष्कर्षमा पुगे । त्यसपछि मात्रै पूर्व ऊर्जासचिव अनुपकुमार उपाध्यायलाई अध्यक्ष राख्दै नयाँ पार्टी दर्ता गरे ।
जसको केन्द्रीय समितिमा ५१ सदस्य छन् । ईन्जिनियर र डाक्टरबाहुल पार्टीको पछाडि घिसिङ हुन् ।
“चुनावअघि नै पार्टीको अध्यक्षता कुलमान घिसिङले नै गर्नुहुनेछ,” उक्त पार्टीका एक पदाधिकारीले भने, “उहाँ सरकारमै रहेर पार्टीमा सक्रिय हुने कि बाहिरिएर भन्ने छलफलमै हुनुहुन्छ ।”
निर्वाचन आयोगका अधिकारीहरूसँग पनि कुराकानी भइसकेको उनले जानकारी दिए । “कुनै पनि कानुनले सरकारमै रहेर चुनावमा जान मिल्दैन भनेको छैन,” उनले भने, “तर नागरिक सरकार भनिएका कारण सरकारमै रहेर चुनाव लड्ने कि बाहिर रहेर भन्ने छलफलको विषय बनेको हो ।”
स्रोतले दिएको जानकारीअनुसार घिसिङले केही दिनभित्रै सो पार्टीको नेतृत्व लिने तयारीमा छन् ।












