२०८२, २४ मंसिर मंगलबार | Wed Dec 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जापानमा भूकम्प : ३० जना घाइते, ९० हजार मानिसलाई बाहिर निस्कन आदेश



जापानको उत्तर–पूर्वी क्षेत्रमा सोमबार राति गएको ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा ३० जना घाइते भएका छन् । भूकम्पका कारण हजारौँ मानिसले आफ्नो घर छाड्नुपरेको छ ।

जापानको मौसम विज्ञान एजेन्सीले भूकम्प स्थानीय समयअनुसार राति ११ः१५ बजे गएको जानकारी दिएको छ । यसको केन्द्र आओमोरी क्षेत्रको तटबाट लगभग ८० किलोमिटर टाढा जमिनमुनि ५० किलोमिटर गहिराइमा थियो ।

भूकम्पपछि सुनामीको चेतावनीहरू जारी गरिएको थियो, जसलाई अहिले हटाइएको छ । यद्यपि, तटहरूमा ७० सेन्टिमिटर (२७ इन्च) सम्म अग्ला छालहरू देखिएका थिए । केही रेल सेवाहरू रोकिएका थिए । हजारौँ घरहरूको बिजुली आपूर्ति अवरुद्ध भएको थियो ।

स्थानीय सञ्चार माध्यमका अनुसार अधिकारीहरूले थप शक्तिशाली भूकम्प आउन सक्ने चेतावनी दिएका छन् । यस कारण मानिसहरूलाई कम्तीमा एक हप्तासम्म उच्च सतर्कतामा रहन भनिएको छ । 

जापानकी प्रधानमन्त्री सनाई ताकाइचीले भूकम्पका लागि आफ्नो तयारीहरूलाई फेरि परीक्षण गर्न र धक्का महसुस गरेमा तुरुन्तै बाहिर निस्कन तयार रहन अपिल गरेकी छन् ।

समाचार संस्था रोयटर्सका अनुसार, लगभग ९० हजार मानिसलाई आफ्नो घरबाट बाहिर निस्कने आदेश जारी गरिएको थियो ।

प्रकाशित मिति : २०८२, २४ मंसिर मंगलबार ००:००  ९ : ५५ बजे