२०८२, ३० मंसिर सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१९ पटकसम्म सहकारी लुटेका दीपक गजुरेल २३औँ पटक पक्राउ



तपाईं अनुमान गर्न सक्नु हुन्छ ? मानिस कतिपल्ट अपराध गर्छ र जेल बस्छ ? एक पटक, दुई पटक, पाँच पटक । 

तर, यत्तिमात्रै होइन नुवाकोटका २८ वर्षीय दीपक गजुरेल २३औँ पटक पक्राउ परेका छन्, त्यो पनि एउटै प्रकृतिको अपराध गरेको गजुरेललाई प्रहरी वृत्त गौशालाको विशेष टोलीले शुक्रबार सिनामंलगबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार गजुरेलले बुधबार सिनामंलगस्थित राजश्री बचत तथा ऋण सहकारी संस्थाको कार्यालय तोडफोड गरेर लुटपाट गरेका थिए । प्रहरीको विशेष टोलीले सहकारीको कार्यालय तथा आसपासका सीसीटीभी फुटेजका आधारमा सहकारी लुट्ने गजुरेलाई पहिचान गरेर पक्राउ गर्न सफल भएको हो ।

पक्राउ परेका गजुरेलमाथि अनुसन्धान गर्दा भने प्रहरी नै चकित परेको छ । अनुसन्धानका क्रममा गजुरेल सहकारी लुटपाटका ‘नटवरलाल’ नै भएको खुलेको छ । काठमाडौं प्रहरीका एसपी पवन भट्टराइका अनुसार गजुरेलले काठमाडौं–पोखरालगायतका सहरका विभिन्न १९ वटा सहकारी लुटेको खुलेको हो । 

यो बाहेक अन्य अपराध गरेर २२ वटा मुद्दा गजुरेलविरुद्ध चलेको खुलेको छ । प्रहरीको अनुसन्धानका क्रममा गजुरेल सहकारी लुटपाट गरेकै अभियोगमा पुर्पक्षका लागि थुनामा थिए ।  भदौ २४ गतेको जेनजी प्रदर्शनमा भने गजुरेल सुन्धारा कारागारबाट भागेको खुलेको छ ।

यसरी परे पक्राउ ?

प्रहरीले २३औँ पटक पक्राउ गरेका दीपक गजुरेल सहकारी लुटपाटमा एक्लै जाने र लुट्ने गरेको प्रहरीको दाबी छ ।  बुधबार सिनामंगलको राज श्री सहकारी लुट्नसमेत गजुरेल एक्लै पुगेका थिए । प्रहरीका अनुसार गजुरेलले सहकारी राति १२ः४५ मा लुटेका थिए । 

सहकारीका सञ्चालकले सहकारीको १६ लाख रुपैयाँ लुटिएको उजुरी प्रहरीमा दिएपछि अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा प्रहरीले सहकारी लुटपाटमा गजुरेल रहेको खुलेपछि खोजी थालेको हो । प्रहरीले सहकारी लुटिएको दुई दिनमै गजुरेलाई पक्राउ गर्न सफल भएको हो ।

प्रहरीले गजुरेले सहकारी लुटेको १० लाख २३ हजार पाँचसय रुपैयाँसमेत बरामद गरेको छ ।  प्रहरीका अनुसार गजुरेलले सहकारीको रकम लुटेर लगेज ठमेलस्थित होटल लोटस ग्रान्ड होटलमा राखेका थिए ।

आफू भने प्रेमीसहित गौशालाको एक होटलमा बस्दै आएका थिए । प्रहरीले सिनामंलगबाट पक्राउ गर्दा गजुरेलको साथबाट २३ हजार ५०० रुपैयाँमात्रै फेला पारेको थियो । बाँकी रकम आफूले खर्च गरेर सकिएको बयान प्रहरीलाई दिएका थिए ।

तर, प्रहरीले गजुरेलकी प्रेमीकालाई समेत पक्राउ गरेपछि भने सहकारीबाट लुटेको रकम ठमेलको होटलमा राखेको पत्ता लागेको हो । प्रहरीको अनुसन्धानका क्रममा सहकारी लुटेपछि गजुरेलले काठमाडौं र पोखराका महंगा होटलहरुमा प्रेमी लिएर बस्ने गरेको खुलेको हो ।

कसरी लुट्थे सहकारी ?

प्रहरीका अनुसार गजुरेल लामो समयदेखि सहकारी ठगी धन्दामा सक्रिय थिए ।  उनी चलायमान हुने सहकारीबारे दिउँसै रेकी गर्न हिँड्ने र रातिमात्रै लुटपाट गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । प्रहरीको अनुसन्धानका क्रममा गजुरेलले रातिको १२ बजेदेखि २ बजेसम्म सहकारी लुट्ने गरेको देखाएको छ । 

सहकारीको रकम लुटेर विभिन्न फिल्म तथा म्युजिक भिडियोहरुमासमेत उनले लगानी लगाउने गरेको प्रहरीको दाबी छ । 
 

प्रकाशित मिति : २०८२, २९ मंसिर आइतबार ००:००  १२ : ३९ बजे