नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा स्थायी कमिटी सदस्य तथा मधेश प्रदेश इन्चार्ज लीलानाथ श्रेष्ठ पार्टीभित्र व्यापक रूपमा चर्चामा आउनुभएको छ। संगठन, संघर्ष, संसद र सरकार-सबै क्षेत्रमा अनुभव बटुलेका नेताका रूपमा उहाँको नाम विभिन्न जिम्मेवारीसँग जोडिन थालेको छ।
सिराहा जिल्लाको गोलबजार–७ स्थायी घर भएका लीलानाथ श्रेष्ठले २०३७ सालमै विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गर्नुभएको हो। अनेरास्ववियू सप्तरी जिल्ला कमिटी सदस्य रहँदा २०३७ साल चैत्र १४ गतेको नेपाल बन्दमा सहभागी भएको अभियोगमा जेलसमेत चलान हुनुभएको थियो। यही संघर्षपूर्ण समयले उहाँको राजनीतिक चेतना र प्रतिबद्धतालाई थप मजबुत बनाएको नेताहरू बताउँछन्।
२०४१ सालमा नेपाल ल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सह–सचिवमा निर्वाचित श्रेष्ठले २०४७ सालमा औपचारिक रूपमा एमालेको पार्टी सदस्यता लिनुभयो। त्यसपछि २०४८ सालमा युवा संघ नेपाल सिराहा जिल्लाको जिल्ला सचिव, २०५१ सालदेखि २०७१ सालसम्म लगातार जिल्ला कमिटी सदस्य, २०६३ सालमा जिल्ला सचिव र २०६७ सालमा जिल्ला अध्यक्षको जिम्मेवारी सम्हाल्नुभयो।
राष्ट्रिय राजनीतिमा उहाँ २०७१ सालको नवौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य, २०७८ सालमा पोलिटब्युरो सदस्य तथा हाल स्थायी कमिटी सदस्य र मधेश प्रदेश इन्चार्ज हुनुहुन्छ। दुई पटक प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुका साथै पाँचवटा महत्वपूर्ण मन्त्रालयको नेतृत्व गरिसक्नुभएको अनुभव उहाँसँग छ।
महाधिवेशनको सन्दर्भमा श्रेष्ठले पार्टी एकता, संगठन सुदृढीकरण र जनविश्वासलाई पहिलो प्राथमिकतामा राख्दै पार्टीले आवश्यक ठाने जुनसुकै जिम्मेवारी लिन आफू तयार रहेको सन्देश दिनुभएको छ। यही सन्तुलित र जिम्मेवार अभिव्यक्तिका कारण उहाँको चर्चा महाधिवेशनमा झनै बढ्दो छ।












