नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत खुल्ला तर्फ केन्द्रीय सदस्य पदका उम्मेदवार लीलानाथ श्रेष्ठले भोलि हुने मतदानमा पार्टी प्रतिनिधिहरूसँग आफ्नो पक्षमा मतदान गर्न हार्दिक अपिल गरेका छन्।
आज मनोनयन प्रक्रिया सम्पन्न भएसँगै श्रेष्ठले लामो राजनीतिक अनुभव, संगठनप्रतिको निष्ठा र परिणाममुखी कामको आधारमा आफूलाई विश्वास गर्ने आग्रह गरेका हुन्। उनले विद्यार्थी आन्दोलनदेखि पार्टी प्रमुख, सांसद र मन्त्रीसम्मको जिम्मेवारी निर्वाह गर्दै पार्टीलाई मजबुत बनाउने काम निरन्तर गर्दै आएको उल्लेख गरे।
“म कुनै पदका लागि होइन, पार्टीको विचार, संगठनको मजबुती र जनताको विश्वासका लागि उम्मेदवार बनेको हुँ,” श्रेष्ठले भने, “अनुभव र इमानदारीको मूल्याङ्कन गर्दै भोलि मतदानमार्फत मलाई साथ दिनुहुन सबै प्रतिनिधिहरूमा अपिल गर्दछु।”
श्रेष्ठले केन्द्रीय कमिटीमा निर्वाचित भएमा संगठन सुदृढीकरण, कार्यकर्ताको सम्मान, नीति निर्माणमा कानुनी स्पष्टता र संघीय संरचनामा पार्टीको प्रभावकारी भूमिका सुनिश्चित गर्न सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।
तीन दशकभन्दा बढी समय एमाले राजनीतिमा बिताएका श्रेष्ठलाई प्रतिनिधिहरूले अनुभवी, संघर्षशील र भरोसायोग्य नेताका रूपमा हेरेका छन्। महाधिवेशनको अन्तिम दिन नजिकिँदै जाँदा लीलानाथ श्रेष्ठको पक्षमा सकारात्मक माहोल थप बलियो बन्दै गएको छ।











