२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ट्रम्पले कोलम्बियाका राष्ट्रपतिलाई दिए धम्की, ‘क्युबाको पतन निश्चित’



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका नेतालाई नियन्त्रणमा लिएपश्चात् कोलम्बियाका समकक्षी गुस्तावो पेट्रोलाई धम्की दिएका छन् । क्युबाको सरकार पनि चाँडै ढल्ने सम्भावना रहेको उनले बताएका छन् ।

आइतबार साँझ एयर फोर्स वन विमानमा पत्रकारसँग ट्रम्पले यस्तो बताएका हुन् । “कोकिन (लागुऔषध) बनाउन र अमेरिकालाई बेच्न मन पराउने बिरामी व्यक्तिले सञ्चालन गरेको भेनेजुएला धेरै बिरामी छ । कोलम्बिया पनि धेरै बिरामी छ र उसले अब लामो समयसम्म यसो गर्ने छैन । म तपाईंहरूलाई भन्छु,” ट्रम्पले भने ।

कोलम्बियामा अमेरिकी ‘अपरेसन’को अर्थ के हो भनेर प्रश्न गर्दा ट्रम्पले भने, “मलाई राम्रो लाग्छ ।”

उनले क्युबामा अमेरिकी सैन्य हस्तक्षेप निश्चित रहेको बताए । त्यो देश आफैँ ढल्न तयार देखिएको उनले टिप्पणी गरे ।

“क्युबा ढल्न तयारजस्तो देखिन्छ । उनीहरूले कसरी सम्हाल्न सक्छन्, मलाई थाहा छैन । तर, क्युबामा अहिले कुनै आय छैन । उनीहरूको सबै आय भेनेजुएलाबाट, भेनेजुएलाको तेलबाट आउँथ्यो,” ट्रम्पले भने ।

उनले अगाडि भने, “उनीहरूले केही पनि पाएका छैनन् । क्युबा साँच्चै खस्न तयार छ । र, तपाईंसँग धेरै उत्कृष्ट क्युबाली–अमेरिकीहरू छन्, जो यसबाट धेरै खुसी हुनेछन् ।”

अमेरिकी सेनाले काराकासमा आक्रमण गरेर त्यहाँका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई अपहरण गरी हिरासतमा लिएको एक दिनपछि ट्रम्पले यस्तो बताएका हुन् । भेनेजुएलाका राष्ट्रपति र उनकी पत्नी सिलिया फ्लोरेसलाई अब न्युयोर्कमा लागुऔषधसँग सम्बन्धित अभियोगमा अदालतमा हाजिर गराइनेछ ।

ट्रम्पले भेनेजुएलाको सर्वोच्च अदालतले उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरे पनि त्यहाँ अमेरिका कार्यकारी प्रमुख रहनेमा जोड दिए । यदि, यस्तो कार्य स्वीकार नगरिए अमेरिकी सेना फेरि भेनेजुएलामा पठाउने धम्की उनले दोहोर्‍याए ।

ट्रम्पले पश्चिमी गोलार्धमा अमेरिकी उपस्थिति विस्तार र १९औँ शताब्दीको मोनरो सिद्धान्त (मनरो डक्ट्रिन)लाई पुनर्जीवित गर्ने महत्त्वाकांक्षा लुकाएका छैनन्, जसले ल्याटिन अमेरिका अमेरिकी प्रभाव क्षेत्रमा पर्ने भन्छ ।

ट्रम्पले आफ्नो २१औँ शताब्दीको संस्करणलाई ‘डन–रो सिद्धान्त’ भनेका छन् ।

प्रकाशित मिति : २०८२, २१ पुस सोमबार ००:००  ११ : १४ बजे