कागेश्वरी मनोहरा नगरपालिका लामो तथा अथक प्रयासपछि नेपालका ७५३ नगरपालिकामध्ये पहिलो पटक आफ्नै नगरपालिकाबाट मालपोत सम्बन्धित जग्गा प्रशासन सेवा सञ्चालन गर्न सफल भएको छ। यसका लागि आज ऐतिहासिक समझदारीपत्रमा हस्ताक्षर गरिएको छ।
शहरी विकास मन्त्रालयको सभाहलमा सम्पन्न कार्यक्रममा माननीय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रो. डा. कुमार इङ्नाम, भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक शिब प्रसाद रेग्मी, चाबेल–साँखु मालपोत कार्यालयका प्रमुख तथा सम्बन्धित मन्त्रालयका उच्च अधिकारीहरूको विशेष उपस्थिति रहेको थियो।

उक्त समझदारीपत्रले नेपालको संविधान २०७२ ले व्यवस्था गरेको स्थानीय तहको अधिकारलाई व्यवहारमा उतार्ने ठोस कदमको रूपमा लिइएको छ। अब कागेश्वरी मनोहरा नगरवासीले जग्गा नामसारी, दर्ता, अभिलेख व्यवस्थापनलगायतका मालपोतसम्बन्धी सेवाहरू आफ्नै नगरपालिकाबाट सहज, छिटो र पारदर्शी रूपमा प्राप्त गर्न सक्नेछन्।
नगर प्रमुख उपेन्द्र कार्कीले यस ऐतिहासिक उपलब्धिले सेवा विकेन्द्रीकरण र सुशासनलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्दै, यस कार्य सफल बनाउन सहयोग गर्ने सुशासनका अभियन्ता तथा मन्त्रीका सल्लाहकार श्री दीपक ओली, नगर उपप्रमुख शान्ता थापा, सम्पूर्ण वडा अध्यक्षहरू तथा नगरपालिकाको प्रशासनिक टिमप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ।
यस उपलब्धिसँगै कागेश्वरी मनोहरा नगरपालिका सेवा प्रवाह र स्थानीय शासनको अभ्यासमा अग्रणी नगरपालिकाका रूपमा स्थापित भएको छ।











