काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाले जग्गा प्रशासनसम्बन्धी मालपोत सेवा कार्यालयको औपचारिक शुभारम्भ गरेको छ। नगरपालिकाको कार्यालय भवन परिसरमा आयोजित कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमार इङ्नामले कार्यालयको उद्घाटन गर्नु भएको हो।

कार्यक्रममा बोल्दै मन्त्री इङ्नामले नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने जग्गा प्रशासन सेवा स्थानीय तहमै उपलब्ध गराउनुपर्ने आवश्यकता औँल्याउँदै सरकार सुशासनको पक्षमा रहेर काम गरिरहेको बताउनुभयो । उहाँले कागेश्वरी मनोहरा नगरपालिकालाई नागरिकले सहज, छिटो र झन्झटरहित सेवा पाउने गरी मालपोत कार्यालय सेवा सञ्चालन गर्न निर्देशनसमेत दिनुभयो ।
नगरप्रमुख उपेन्द्र कार्कीले नेपालभर रहेका ७५३ स्थानीय तहहरूमध्ये जग्गा प्रशासनसम्बन्धी मालपोत सेवा स्थानीय सरकारको कार्यालयबाट सुरु गर्ने पहिलो स्थानीय तहका रूपमा कागेश्वरी मनोहरा नगरपालिका स्थापित भएको बताउनु भयो । स्थानीय तहमा कृषि, शिक्षा, स्वास्थ्यजस्ता सेवा उपलब्ध भए पनि नागरिकसँग प्रत्यक्ष सम्बन्ध रहेको जग्गा प्रशासन सेवा नहुँदा लामो समयदेखि समस्या हुँदै आएको उल्लेख गर्दै, मन्त्रालय र नगरपालिकाबीच समझदारी गरी यो सेवा सुरु गर्न सफल भएको उहाँको भनाइ छ।
नगरप्रमुख कार्कीका अनुसार विभिन्न चुनौतीका बाबजुद मालपोत सेवा कार्यालय स्थापना गरिएको हो र अब स्थानीय नागरिकले आफ्नो नगरपालिकाबाटै छरितो, पारदर्शी र झन्झटरहित सेवा पाउनेछन्। यसले समय र खर्च दुवैको बचत हुनुका साथै सेवा प्रवाहमा प्रभावकारिता बढ्ने विश्वास लिइएको छ।

कार्यक्रममा नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न राजनीतिक दलका नेता, कर्मचारी तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। नगरपालिकाले मालपोत कार्यालयको शाखा स्थापना गरी आवश्यक भौतिक संरचना, सामग्री तथा जनशक्तिको व्यवस्था समेत पूरा गरिसकेको छ ।
स्थानीय तहमै मालपोत सेवा सुरु भएसँगै कागेश्वरी मनोहरा नगरपालिकाले सेवा विकेन्द्रीकरणको अभ्यासलाई नयाँ उदाहरण प्रस्तुत गरेको छ । यस पहलले अन्य स्थानीय तहलाई पनि नागरिक नजिकै सेवा पु¥याउने दिशामा प्रेरणा दिने अपेक्षा गरिएको छ ।












