ओखलढुङ्गा लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापालाई प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न लागेपछि गाउँपालिकाले भव्य बिदाइ गरेको छ। नेकपा एमाले केन्द्रीय समितिले थापालाई ओखलढुंगाबाट प्रतिनिधि सभा उम्मेदवार बनाउने निर्णय गरेपछि उनले सोमबार उपाध्यक्ष पदबाट राजीनामा दिएकी थिइन्।
गाउँपालिका अध्यक्ष अशोक कार्कीले राजीनामा स्वीकृत गरेपछि पालिका कार्यालयमा आज विशेष बिदाइ समारोह आयोजना गरिएको थियो। २०७९ सालको स्थानीय तह निर्वाचनमा अध्यक्ष कार्की नेपाली कांग्रेसबाट र उपाध्यक्ष थापा एमालेबाट निर्वाचित भएकाले उनका सहकर्मीहरूले उनको योगदानको उच्च मूल्यांकन गर्दै बिदाइ गरेको समारोह भावपूर्ण बन्यो।
बिदाइ समारोहमा अध्यक्ष कार्कीले थापालाई राष्ट्रिय राजनीतिको यात्राका लागि शुभकामना व्यक्त गर्दै भने, “उपाध्यक्ष थापाले आफ्नो युवा नेतृत्व र प्रतिबद्धताबाट पालिकालाई गर्व गर्नुपर्ने योगदान दिएकी छन्। अब उनी राष्ट्रिय स्तरमा आफ्नो क्षमता देखाउने अवसर पाउनेछिन्।”

थापाले आफ्नो राजीनामा थप जिम्मेवारीका लागि भएको भन्दै भनेकी छन्, “हालसम्मको सहकार्य र माया सहयोगका लागि सबैलाई धन्यवाद। नयाँ भूमिकाबाट लिखुको विकास र समृद्धिमा अझ बढी योगदान दिने प्रयास जारी राख्नेछु। मतदाताबाट मन र मतसहितको सहयोगको अपेक्षा पनि गर्दछु।”
उनी भनिन्, “अब म तपाईंहरूको आवाजलाई स्थानीय तहबाट संसदसम्म पुर्याउने संकल्पसहित पार्टीको निर्देशनबमोजिम प्रतिनिधि सभा निर्वाचनमा होमिदैछु। यो निर्णय व्यक्तिगत पदको लालसा होइन, पार्टीको आवश्यकता र जिम्मेवारीले गरेको हो। लिखुको समस्या, सम्भावना र सपनालाई राष्ट्रिय नीतिमा रूपान्तरण गर्ने थप जिम्मेवारीका रूपमा मैले यसलाई लिएको छु।”

थापा ओखलढुंगामा राष्ट्रिय राजनीतिक दलबाट प्रतिनिधि सभा उम्मेदवार बन्ने पहिलो महिला हुन्। उनको उम्मेदवारीसँगै जिल्लामा राजनीतिक हलचल तेज भएको छ। हाल रास्वपाले पूर्व एआईजी विश्वराज पोखरेललाई उम्मेदवार बनाएको छ भने नेपाली कांग्रेस र नेकपाले आफ्नो उम्मेदवार टुंगो लगाउन बाँकी रहेको छ।











