२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुङ्गामा गुरुङ बने जनआवाजका उम्मेदवार



ओखलढुङ्गाको राजनीति यतिबेला गम्भीर मोडमा पुगेको छ। नेकपा एमाले ओखलढुङ्गा जिल्ला कमिटीका अध्यक्ष, उपाध्यक्ष र सचिवसहित ३८ जना नेता–कार्यकर्ताले पार्टी परित्याग गरेपछि जिल्लाको राजनीतिक माहोल तरंगित बनेको छ। निरन्तर व्यक्तिकेन्द्रित निर्णय, कमजोर बन्दै गएको लोकतान्त्रिक अभ्यास र सिद्धान्तबाटको विचलनप्रति असन्तुष्टि जनाउँदै उनीहरू नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित भएका हुन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निरंकुश कार्यशैली र बामपन्थी मूल्यविपरीत देखिएको राजनीतिक अभ्यासले आफूहरूलाई विवेकसँग सम्झौता गर्न नसक्ने अवस्थामा पुर्‍याएको नवप्रवेशी नेताहरूको भनाइ छ। लामो समय पार्टीभित्रै बसेर सुधारको अपेक्षा गरिए पनि नेतृत्व क्रमशः सीमित व्यक्तिको घेरामा केन्द्रित हुँदै गएपछि अन्ततः पार्टी छाड्नुको विकल्प नरहेको उनीहरूको निष्कर्ष छ।

यही राजनीतिक पृष्ठभूमिमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार अम्बिरबाबु गुरुङ जनताको भरोसाको केन्द्रमा देखिन थालेका छन्। एमालेले ओखलढुङ्गाबाट प्रतिनिधि सभा सदस्यमा अस्मिता थापालाई उम्मेदवार बनाएपछि असन्तुष्ट बनेका गुरुङले यसअघि नै एमाले परित्याग गर्दै नेकपाबाट उम्मेदवारी दिएका थिए।

अनलाइन सरोकारसँग कुरा गर्दै गुरुङले आफू अवसरवादी नभएको स्पष्ट पार्दै भने, “जनताको आवाज पटक–पटक दबाइयो, पार्टीभित्र सुधारको ढोका बन्द गरियो। जनताको चाहना र आवश्यकतालाई मध्यनजर गर्दै बाध्य भएर यो निर्णय लिनुपर्‍यो।” उनले विविध छलफलपछि समयको माग र जनताको रुचिलाई आत्मसात गर्दै चुनावी मैदानमा होमिएको बताए।

शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत एमाले जिल्ला अध्यक्ष ज्ञानबहादुर खड्का (जिवी) सहितका नेताहरूले औपचारिक रूपमा पार्टी परित्यागको घोषणा गरे। सोही दिन उनीहरू नेकपामा प्रवेश गरे, जहाँ पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपालले नवप्रवेशीहरूलाई स्वागत गरे।

स्वागत मन्तव्यका क्रममा अध्यक्ष प्रचण्डले यस निर्णयलाई “विवेक, संघर्ष र राजनीतिक नैतिकताको पक्षमा लिइएको साहसी कदम”को संज्ञा दिँदै भने, “सिद्धान्तभन्दा पद ठूलो हुँदैन। गलत प्रवृत्तिविरुद्ध उभिन सक्नेहरू हार्दैनन्—उनीहरूले भविष्य रोजेका हुन्छन्।”

राजनीतिक विश्लेषकहरूका अनुसार यो घटनाक्रम सामान्य दल परिवर्तन मात्र नभई नेतृत्व शैलीप्रतिको गहिरो असन्तोषको संकेत हो। जिल्लाबाट सुरु भएको यो बहिर्गमनले पार्टीभित्र बढ्दो असन्तुष्टि र जनताको चाहनालाई बेवास्ता गर्ने प्रवृत्तिमाथि गम्भीर प्रश्न उठाएको छ।

नवप्रवेशी नेताहरूले लोकतान्त्रिक मूल्य, सामूहिक नेतृत्व, समावेशी राजनीति र जनउत्तरदायित्वको अभ्यास जहाँ सम्भव हुन्छ, त्यहीँ आफ्नो राजनीतिक यात्रा जारी रहने स्पष्ट पारेका छन्। ओखलढुङ्गामा देखिएको यो परिवर्तनलाई धेरैले “जनताले खोजेको राजनीतिक विकल्प”को रूपमा हेर्न थालेका छन्।

प्रकाशित मिति : २०८२, ११ माघ शनिबार ००:००  १२ : ०६ बजे