अभिनेता सुनील थापाको निधन भएको छ । गएराति घरमै उनको निधन भएको हो । सुतिरहेकै अवस्थामा बेहोस रहेको फेला परेपछि उनलाई नर्भिक इन्टरनेशनल हस्पिटल थापाथली पुर्याइएको थियो ।
हिजो (शुक्रबार) राति अबेरसम्म थापाले चलचित्रको छायांकन गरेका थिए । उनी चलचित्र ‘राम नाम सत्य’को छायांकनमा थिए ।
“हिजो राति अबेरसम्म उहाँ सुटिङको सेटमै हुनुहुन्थ्यो । राम नाम सत्य भन्ने चलचित्रमा अभिनय गरिरहनु भएको थियो,” थापानिकटका कलाकार विल्सन विक्रम राईले भने, “चलचित्रको क्लाइमेक्सको छायांकन भइरहेको थियो, त्यसमै उहाँले अभिनय गरिरहनु भएको थियो ।”
राति अबेर उनी आफ्नो अपार्टमेन्टमा आएर सुतेका थिए । “भोलि बिहानै सुटिङमा जानुपर्नेछ, मलाई चाँडै उठाइदिनु है भनेर भन्नु भएको रहेछ,” विल्सन भन्छन्, “बिहान स्टाफ बोलाउन जाँदा, उहाँ बेहोस रहेको देखेपछि अस्पताल ल्याइएको थियो । तर, अस्पताल ल्याउँदासम्म धेरै ढिलो भइसकेको चिकित्सकले बताउनु भयो ।”
दर्जनौं चलचित्रमा अभिनय गरेका सुनील थापा खलपात्रमा पहिलो रोजाईका कलाकार थिए ।
थापालाई धेरैले ‘राते काइँला’ भनेर चिन्छन् । उनले बलिउडका चलचित्रमा पनि काम गरेका थिए ।











