नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आपराधिक तत्त्वले आफूमाथि विभिन्न आरोप लगाउने गरेको बताएका छन् ।
सोमबार (माघ २६) झापाको गौरीगन्जमा मतदातासँग छलफलका क्रममा उनले भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनमा आपरााधिक तत्त्व घुसेर विध्वंस मच्चाएको र उल्टै आफूमाथि गोली चलाएर मान्छे मारेको आरोप लगाउने गरिएको बताएका हुन् । तत्कालीन प्रधानमन्त्रीको हैसियतमा आफूले कोहीमाथि पनि गोली चलाउन आदेश नदिएको उनले दोहोर्याए ।
संसद् भवन, सिंहदरबार जलाउन खोजेर प्रहरीले गोली चलाउने वातावरण आपराधिक तत्त्वले नै बनाएको उनले जिकिर गरे । आफूले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि ५४ जनाको मृत्यु भएको उनले उल्लेख गरे ।
अध्यक्ष ओलीले मुलुकको विकासका निम्ति एमालेले सबैभन्दा धेरै काम गरेको दाबी गरे ।
नेपालमा ग्यास उत्खनन भइसकेको भन्दै उनले अब त्यसलाई सदुपयोग गरेर घरघरमा पाइपबाट वितरण गरिनुपर्ने बताए ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा क्षेत्र नम्बर–५ बाट उमेदवार रहेका ओली पछिल्लो समय स्थानीयसँगको छलफलमा केन्द्रित छन् ।











