२०८२, २ फाल्गुन शनिबार | Sun Feb 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बंगलादेशको निर्वाचन खारेज गर्न शेख हसिनाको माग



बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाले निर्वाचन सम्पन्न भएलगत्तै वक्तव्य जारी गर्दै हिजो सम्पन्न निर्वाचनलाई मतदाताविहीन, अवैध र असंवैधानिक भन्दै खारेज गर्न माग गरेकी छिन् । 

सन् २०२४ को जनआन्दोलनबाट हसिना सरकार ढलेपछि बंगलादेशमा पहिलोपटक आम निर्वाचन भएको हो । हालै सम्पन्न निर्वाचनलाई छलपूर्ण संज्ञा दिँदै हसिनाले आफ्नो पार्टी—अवामी लिग र मतदाताहरूको अनुपस्थितिमा यो चुनाव गराइएको बताइन् । 

“यस्तो परिस्थितिमा हामी यो मतदाताविहीन, अवैध र असंवैधानिक निर्वाचनको खारेजी र युनुसको राजीनामा माग गर्दछौँ,” उनले भनेकी छन् ।

उनले राजनीतिक बन्दीका साथै शिक्षक, पत्रकार, बुद्धिजीवी र पेसाकर्मीहरूको रिहाइ, उनीहरूमाथि लगाइएका झुटा मुद्दा फिर्ता लिन पनि माग गरेकी छिन् । 

अवामी लिगका गतिविधिमाथि लगाइएको प्रतिबन्ध हटाउन र निष्पक्ष कामचलाउ सरकारको मातहतमा स्वतन्त्र, निष्पक्ष र समावेशी निर्वाचनमार्फत जनताको मताधिकार पुनस्र्थापना गर्न जोड दिएकी छन् ।

हसिनाले मतदानमा जनताको सहभागिता अत्यन्त न्यून रहेको र ढाकालगायत देशका अन्य भागका मतदान केन्द्रहरू मतदाताविहीन तथा पूर्णरूपमा खाली रहेको दाबी गरिन् । 

उनले भनिन्, “निर्वाचन आयोगको ब्रिफिङ अनुसार बिहान ११ बजेसम्म (साढे तीन घण्टामा) जम्मा १४.९६ प्रतिशत मात्र मतदान भएको छ । मतदानको मुख्य समयमा देखिएको यो न्यून सहभागिताले जनताले अवामी लिगबिनाको यो निर्वाचनलाई बहिष्कार र अस्वीकार गरेको पुष्टि गर्छ ।”

“फेब्रुअरी ११ को साँझदेखि नै मतदान केन्द्र कब्जा गर्ने, गोली प्रहार गर्ने, भोट किन्न पैसाको व्यापक प्रयोग गर्ने, मतपत्रमा छाप लगाउने र नतिजा सिटमा एजेन्टहरूलाई जबर्जस्ती हस्ताक्षर गराउनेजस्ता प्रहसनहरू सुरु भएका थिए,” उनले दाबी गरिन् ।

हसिनाले पछिल्ला दिनहरूमा अवामी लिगका समर्थक र अल्पसंख्यक समुदायलाई जबर्जस्ती मतदान केन्द्रसम्म लैजान आक्रमण, गिरफ्तारी र त्रासको वातावरण सिर्जना गरिएको बताइन् । 

हाल बंगलादेश नेसनलिस्ट पार्टीका तारिक रहमान अर्को सरकार बनाउने मुख्य दाबेदारका रूपमा देखिएका छन् । पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा रहमान १७ वर्षको लन्डन निर्वासनपछि गत डिसेम्बरमा बंगलादेश फर्किएका थिए । 

रहमानले लोकतान्त्रिक संस्थाहरूको पुनर्निर्माण, विधिको शासन स्थापना र संकटग्रस्त अर्थतन्त्रको पुनरुत्थान गर्ने वाचा गरेका छन् ।

प्रकाशित मिति : २०८२, २ फाल्गुन शनिबार ००:००  २ : ५० बजे