नेकपा (एमाले)को झन्डा जलाएको आरोपमा प्रहरीले थप दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–४, हलवारका ३० वर्षीय रमेश रानामगर र तुलसीपुर–६, गाइडरका २४ वर्षीय विक्रम परियार रहेका प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
यही फागुन ७ गते राति करिब साढे ९ बजे तुलसीपुर–५, वीरेन्द्रचोकमा एमालेको चुनाव चिह्न सूर्यअंकित झन्डा जलाइएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सुर्खेतबाट दाङ आउने क्रममा उक्त घटना भएको थियो ।
झन्डा जलाएको आरोमा शुक्रबार (फागुन ८) प्रहरीले तुलसीपुर–७, कालाखोलाका ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई पक्राउ गरेको थियो । पक्राउ गरिएका तीनैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न अरू सम्भावित व्यक्तिहरूको खोजीकार्य जारी रहेको प्रहरीले जानकारी गराएको छ ।
लामिछानेलाई स्वागत गर्न उपस्थित भीडमा रहेका केही व्यक्तिहरूले झन्डा जलाउनुका साथै एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी समेत गरेका थिए ।











