२०८१, ४ जेठ शुक्रबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाको जोखिममा बैङ्क !


२०७७, १५ भाद्र सोमबार ००:००  

0
Shares

ओखलढुंगा । कोरोनाको महामारीका बेलामा पनि ओखलढुंगाको राष्ट्रिय वाणिज्य बैङ्कमा कुनै सतर्कता अपनाईएको छैन । दैनिक करिब १ सय ५० जना भन्दा बढीलाई सेवा दिंदै आएको बैङ्कमा सामान्य स्वास्थ्य सतर्कता समेत नअपनाईएको पाईएको हो ।

कोरोनाको संक्रमण फैलन नदिन नियमित साबुन पानीले हातधुने, सेनिटाईजर प्रयोग गर्ने जस्ता सावधानी अपनाउनुपर्ने भनिएपनि राष्ट्रिय वाणिज्य बैङ्कमा त्यो सुविधा नभएको सेवाग्राहीको गुनासो छ । ‘बैंकमा हातधुने पानी पनि छैन । सेनिटाईजर पनि पाईएन । गार्डले ज्वरो नाप्ने गन मात्रै तेर्साउँदा रहेछन् ।’ एक सेवाग्राहीले भने, ‘साह्रै जोखिम रहेछ किन सतर्कता नअपनाएको होला ?’ लाईनमा बस्नेले मापदण्ड अनुसार भौतिक दुरी कायम नगर्ने र मास्क समेत राम्रोसँग नलगाई बैंकमा प्रवेश गर्ने गरेको पाईएको छ ।

सेवाग्राहीले सावधानी नअपनाउँदा बैंकका कर्मचारी समेत जोखिममा छन् । ‘कार्यालयमा व्यवस्थापन राम्रो भएन । बाहिरबाट आउने सेवाग्राही पनि सचेत हुँदैनन् । काम गर्न साह्रै डरमर्दो अवस्था छ ।’ नाम नबताउने सर्तमा एक कर्मचारीले भने ।

बैंकका शाखा प्रबन्धक बिष्णुप्रसाद अर्यालले भने आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार व्यवस्थापन गरिएको दावी गरेका छन् । ‘हातधुन सेनिटाइजर लाउन हामीले भनेका छौं । व्यवस्था पनि भएको छ तर सेवाग्राही नै मापदण्ड अनुसार सतर्क हुँदैनन् ।’ उनले भने, ‘मास्क नलगाएका र सेनिटाईजर नगरेकालाई भित्र छिर्न नदिने भनेका छौं । तपाईहरुले सुनेको गुनासोमा सबै कुरा सत्य नहुन सक्छन् हामीले यहाँ व्यवस्थापन राम्रै गरेको जस्तो लाग्छ ।’ कार्यालयमा आउँदा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन प्रवन्धक अर्यालले सबैलाई आग्रह गरेका छन् ।

बैंकले कोरोनाको करहमा पनि नियमित सेवा प्रवाह गरिरहेको छ । अहिले पेन्सन तथा तलब निकासा सहितका नियमित आर्थिक कारोबार गर्नेहरुले बैंकबाट सेवा लिईरहेका छन् ।

प्रकाशित मिति : २०७७, १५ भाद्र सोमबार ००:००  ५ : २७ बजे