समानुपातिक सांसदहरुको सूची टुंगो लगाउन रास्वपाको सचिवालय बैठक भर्चुअल रुपमा बस्ने भएको छ ।
बैठक भर्चुल बस्ने जानकारी पाएपछि केन्द्रीय कार्यालय बनस्थली पुगेका नेताहरु पनि त्यहाँबाट फर्किएका छन् ।
प्रवक्ता मनिष झाले सूचना जारी गर्दै आज बिहान १० बजेका लागि सचिवालय बैठक तय गरिएको जानकारी दिएका थिए ।
नेताहरु सोविता गौतम, प्रवक्ता मनिष झा लगायत केन्द्रीय कार्यालय पुगेका थिए । प्रवक्ता झाले त्यहाँ पत्रकारहरुसँग कुरा गर्दै समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्नेहरुको नामावली आज निर्वाचन आयोगमा बुझाउने जानकारी दिए ।
फागुन २१ को निर्वाचनमा प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले समानुपातिकबाट थप ५७ सिट पाउनेछ ।
समानुपातिक सांसदहरुलाई प्रमाणपत्र वितरण लगायत निर्वाचनका बाँकी प्रक्रिया पूरा भइसकेपछि नयाँ सरकार गठन हुने र त्यसका लागि १० दिन जति लाग्नसक्ने प्रवक्ता झाले अनुमान गरे ।











