राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पार्टीका तर्फबाट नवनिर्वाचित सांसदका निम्ति अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा दुईदिने अभिमुखीकरण आयोजना गरिएको हो ।
मंगलबार (चैत ३) बिहान अबेर अभिमुखीकरणको शुभारम्भ गरियो । रास्वपा उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेले घण्टी बजाएर अभिमुखीकरणको शुभारम्भ गरेका हुन् । अभिमुखीकरण शुभारम्भमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) देखिएनन् ।
लामिछाने बुधबार (चैत ४) अभिमुखीकरण समापनमा सहभागी हुनेछन् । उनले पार्टीको रणनीति, दृष्टिकोण र नीतिगत प्राथमिकता तथा समापन मन्तव्य व्यक्त गर्ने कार्यक्रम तालिका छ ।
बालेन पनि भोलि मात्र उपस्थित हुने रास्वपाका तर्फबाट नवनिर्वाचित सांसद राजुनाथ पाण्डेले जानकारी दिए ।
रवि र बालेन स्वास्थ्य अवस्था र कार्यव्यस्ताताका कारण आउन नसकेको उपसभापति अर्यालले बताए । सम्भव भएसम्म भोलि दुवैजना कार्यक्रम समापन हुनुअघि उपस्थित हुने उनले जानकारी गराए ।
नवनिर्वाचित सांसदलाई संसदीय प्रक्रिया, कानुन निर्माण, नीति विश्लेषण र जनप्रतिनिधिको भूमिकाबारे स्पष्ट पार्न, प्रभावकारी, उत्तरदायी र परिणाममुखी प्रतिनिधि बन्न सहयोग गर्नेलगायत उद्देश्यले अभिमुखीकरण आयोजना गरिएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए ।
अभिमुखीकरणमा नेपाल सरकारका पूर्वसचिव, आईटीविज्ञलगायत व्यक्तिहरूले विभिन्न विषयमा जानकारी प्रदान गर्नेछन् । रास्वपाबाट यसअघि पनि सांसद रहिसकेकाहरूले संसदीय अनुभव सुनाउने कार्यक्रम तालिका छ ।











