गएको फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनपश्चात् पहिलो अधिवेशन आज (चैत १९)देखि सुरु हुँदै छ । सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय हलमा दिउँसो २ बजे बस्ने गरी प्रतिनिधिसभा बैठक बोलाइएको छ ।
अधिवेशनको सुरुआतमा राजनीतिक दलका नेता तथा स्वतन्त्र सांसदले दलीय आधारमा सम्बोधन गर्ने परम्परा छ । संघीय संसद् सचिवालयले सोहीअनुसार बैठकको तयारी गरेको छ ।
निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बस्न लागेको हो । यो बैठकको सुरुआतमा विभिन्न दलका शीर्ष/संसदीय दलका नेताले सम्बोधन गर्ने तयारी छ ।
सरकारको नेतृत्वकर्ता दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट सभापति रवि लामिछानेले नै बैठकमा सम्बोधन गर्नेछन् । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका तर्फबाट कसले सम्बोधन गर्ने भन्ने टुंगो लाग्न बाँकी रहेको उक्त पार्टीका नेताले बताएका छन् ।
प्रतिनिधिसभामा तेस्रो ठूलो पार्टी नेकपा (एमाले)का तर्फबाट कार्यवाहक अध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले सम्बोधन गर्नेछन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै सम्बोधन गर्ने तयारी छ ।
श्रम संस्कृति पार्टीका तर्फबाट अध्यक्ष हर्क साम्पाङले सम्बोधन गर्नेछन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट संसदीय दलका नेता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले सम्बोधन गर्ने तयारी छ ।
प्रतिनिधिसभामा यसपालि एक स्वतन्त्र सांसद महावीर पुन छन् । उनले पनि बोल्न समय पाउँछन् । स्वतन्त्र सांसदलाई बोल्नका निम्ति पाँच मिनेटको समय दिइने संघीय संसद्का प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
विगतको तुलनामा आज अरू दललाई पनि संख्याका आधारमा पाउनेभन्दा बढी समय व्यवस्थापन गरिएको उनले बताए । यद्यपि, क–कसले बोल्ने भनेर दलका तर्फबाट सचिवालयमा नाम पठाउन बाँकी रहेको उनले स्पष्ट पारे । पार्टीका नेताहरूले भने आफ्नो दलका तर्फबाट बोल्नेहरूको नाम बताएका हुन् ।
बैठक सञ्चालन ज्येष्ठ सदस्य एवं कांग्रेस सांसद अर्जुननरसिंह केसीले गर्नेछन् । सभामुख निर्वाचित नभएसम्म ज्येष्ठ सदस्यले बैठक सञ्चालन गर्ने प्रावधान छ । सभामुखको निर्वाचन यही चैत २२ गते गरिने तय छ ।











