२०८२, २७ चैत्र शुक्रबार | Sat Apr 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हलेसी तुवाचुङ उत्कृष्ट नगरपालिका घोषित



खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासन सूचकमा ९० प्रतिशत अंक प्राप्त गर्दै देशभरका स्थानीय तहहरूमध्ये उत्कृष्ट नगरपालिका बन्न सफल भएको छ।

नगरपालिकाले कर्मचारी दरबन्दी स्वीकृति, नतिजामूलक कार्यविवरण तयार गरी कार्यसम्पादन सम्झौता लागू गरेपछि सेवा प्रवाह सहज भएको देखिएको छ। नगर प्रमुख विमला राइले उत्कृष्टता अवार्ड ग्रहण गर्दै यस उपलब्धिलाई व्यवस्थापन सुधार र सुशासनको परिणामका रूपमा व्याख्या गरेकी छन्।

नगरपालिकामा विद्युतीय शासन प्रणाली प्रभावकारी रूपमा लागू गरिएको छ। राजस्व, लेखा, भुक्तानी, सूचना सम्प्रेषण, सेवा प्रवाह तथा विपद् व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याइएको छ। साथै करदाता शिक्षा कार्यक्रममार्फत गत आर्थिक वर्ष ०८१/०८२ मा अनुमानित आन्तरिक आयभन्दा १०८ प्रतिशत वास्तविक आय संकलन गर्न सफल भएको छ।

पारदर्शी बजेट योजना, वित्तीय अनुशासन र पूँजीगत खर्चमा वृद्धि गर्दै बेरुजु ०.१५ प्रतिशतभित्र राख्न सफल भएको यस नगरपालिकाले संस्थागत क्षमता र वित्तीय व्यवस्थापनमा उत्कृष्टता हासिल गर्दै सुशासनसहित समृद्धिको मार्गमा अग्रसर रहेको उल्लेख गरिएको छ।

प्रकाशित मिति : २०८२, २७ चैत्र शुक्रबार ००:००  ३ : ३४ बजे