ओखलढुंगामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरु भत्काउन सुरु गरिएको छ। देशभरका विभिन्न स्थानीय तहहरूले नदी किनार तथा सार्वजनिक, जग्गामा भएका अतिक्रमण हटाउने अभियान तीव्र बनाइरहेका बेला ओखलढुंगाको सुनकोशी गाउँपालिकाले पनि यस्तो अभियान अघि बढाएको हो।
सुनकोशी गाउँपालिका–५ अन्तर्गत मुलखर्क तथा फलाटेभन्ज्याङ क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घर तथा टहराहरू पूर्व प्रकाशित सूचना अनुसार हटाइएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले यसअघि नै अतिक्रमित संरचना स्वयं हटाउन ७ दिनको समयसीमा दिएको थियो। तर तोकिएको अवधिभित्र अटेर भएपछि मंगलबारदेखि डोजर प्रयोग गरी संरचना भत्काउने कार्य सुरु गरिएको हो।

पहिलो चरणमा वडा नम्बर ५ को फलाटेभन्ज्याङ क्षेत्रका अवैध संरचनाहरू हटाइएको छ। मंगलबार मात्रै हर्कबहादुर खत्री, तिलकबहादुर खत्री र रमेश खत्री लगायतका व्यक्तिहरूद्वारा निर्माण गरिएका दुई वटा घर र दुई वटा टहरा भत्काइएको हो ।
ती संरचनाहरू करिब १२ वर्षअघि सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका थिए। विगतमा पटक–पटक सूचना जारी गर्दै हटाउन आग्रह गरिए पनि अटेर गरिएपछि बाध्य भएर डोजर प्रयोग गरिएको गाउँपालिकाले स्पष्ट पारेको छ।

यसैबीच गाउँपालिका अध्यक्ष कमल तामाङले फलाटे बजार क्षेत्रलाई व्यवस्थित र सुन्दर बनाउने उद्देश्यले अतिक्रमण हटाउने अभियान सञ्चालन गरिएको बताउनु भयो । आगामी दिनमा थप अध्ययन गरी अन्य स्थानमा रहेका यस्ता संरचनामाथि पनि आवश्यक कारबाही गरिने जानकारी दिनु भयो ।
गाउँपालिकाले अतिक्रमण हटाउने अभियानलाई निरन्तरता दिने जनाएको छ। आगामी दिनमा थप सूचना जारी गर्दै अन्य वडामा रहेका अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने तयारी भइरहेको गाउँपालिकाको जनाएको छ।











