२०८३, १ जेष्ठ शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाल व्यवसायी केन्द्र माविमा विद्युतीय लिफ्ट उद्घाटन



काठमाडौँ महानगरपालिका वडा नं. ७ सिफलस्थित बाल व्यवसायी केन्द्र माध्यमिक विद्यालयमा बिहीबार एउटा महत्वपूर्ण क्षण सिर्जना भयो । फरक क्षमता भएका बालबालिकालाई सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले निर्माण गरिएको विद्युतीय लिफ्ट औपचारिक रुपमा सञ्चालनमा ल्याइयो ।

काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा निर्माण गरिएको उक्त लिफ्टको उद्घाटन महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल ले गर्नुभयो । उद्घाटनसँगै विद्यालय परिसरमा उत्साह थपिएको थियो । विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय जनप्रतिनिधिको बाक्लो उपस्थितिले कार्यक्रमलाई विशेष बनाएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशराज काकीको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा नं. ७ का अध्यक्ष बिमल कुमार होडा, काठमाडौँ महानगरपालिका शिक्षा विभागका शिक्षा अधिकारी नमराज ढकाल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामप्रसाद ढुङ्गानाले विद्यालयलाई अझ व्यवस्थित र बालमैत्री बनाउन थप सहयोग आवश्यक रहेको उल्लेख गर्दै महानगर र सम्बन्धित निकायसमक्ष विभिन्न माग राख्नुभयो ।

उद्घाटनपछि कार्यवाहक प्रमुख सुनिता डंगोलले विद्यालयका अपाङ्गता मैत्री कक्षाको अवलोकन गर्नुका साथै फरक क्षमता भएका बालबालिकासँग भेटघाट गर्नुभयो । उहाँले महानगरपालिका बालबालिकाको शिक्षा र स्वास्थ्यप्रति संवेदनशील रहेको बताउँदै विद्यालयलाई आवश्यक सहयोग निरन्तर उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै वडा अध्यक्ष बिमल कुमार होडाले वडा नं. ७ लाई क्रमशः पूर्ण अपाङ्गता मैत्री क्षेत्रका रुपमा विकास गर्ने लक्ष्यका साथ काम भइरहेको जानकारी दिनुभयो । “पार्कदेखि पुलसम्म सबै संरचनालाई अपाङ्गता मैत्री बनाउने अभियानमा वडा सक्रिय छ,” उहाँले भन्नुभयो ।

नेपाल बाल संगठनको पहलमा स्थापना भएको बाल व्यवसायी केन्द्र माध्यमिक विद्यालयले पाँच दशकभन्दा लामो समयदेखि देशभरका दीनदुःखी, असहाय तथा संरक्षणको आवश्यकता भएका बालबालिकालाई शिक्षा प्रदान गर्दै आएको छ । विद्यालयले शिक्षासँगै व्यावसायिक सीपमार्फत बालबालिकालाई आत्मनिर्भर बनाउने लक्ष्य लिएर काम गर्दै आएको छ ।

विद्युतीय लिफ्ट सञ्चालनमा आएपछि अब विद्यालयमा अध्ययनरत फरक क्षमता भएका विद्यार्थीलाई कक्षाकोठासम्म पुग्न सहज हुने विश्वास गरिएको छ । विद्यालयमा थपिएको यो संरचना केवल एउटा लिफ्ट मात्र नभई समावेशी शिक्षातर्फको महत्वपूर्ण कदमका रुपमा हेरिएको छ ।

प्रकाशित मिति : २०८३, १ जेष्ठ शुक्रबार ००:००  ३ : १७ बजे