२०८३, २१ जेष्ठ बिहिबार | Thu Jun 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

का.म.पा ७ मा पूर्वाधार सुधारको तीव्रता : सडक स्तरोन्नतिप्रति नागरिक सन्तुष्ट



काठमाडौँ महानगरपालिका वडा नं. ७ का विभिन्न टोल तथा मार्गहरूमा भइरहेको सडक स्तरोन्नति तथा सौन्दर्यीकरण कार्यको वडा अध्यक्ष विमल कुमार होडा, वडा सदस्य रुपा थापा तथा स्थानीयवासीहरूको सहभागितामा अनुगमन गरिएको छ।

अनुगमनका क्रममा विभिन्न स्थानमा ब्लक तथा ढुङ्गा बिछ्याउने, सडक मर्मत तथा रङरोगनलगायतका कार्यहरूको स्थलगत निरीक्षण गरिएको थियो। वडा कार्यालयले नागरिकको दैनिक आवतजावतलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ।

वडा अध्यक्ष विमल कुमार होडाले आफ्नो कार्यकाललाई जनमुखी बनाउने उद्देश्यअनुसार नागरिकका आवश्यकता र समस्यालाई केन्द्रमा राखेर काम गरिरहेको बताउनुभयो। उहाँले वडावासीले तिरेको करको प्रतिफल प्रत्यक्ष अनुभूति हुने गरी विकास निर्माणका कामलाई तीव्रता दिइएको उल्लेख गर्दै बाँकी रहेका टोल तथा बस्तीहरूमा समेत आवश्यक पूर्वाधार निर्माण कार्यलाई निरन्तरता दिइने जानकारी दिनुभयो।

वडा सदस्य रुपा थापाले नागरिकको आवश्यकतालाई मध्यनजर गर्दै विभिन्न स्थानमा सडक निर्माण, ब्लक बिछ्याउने, रङरोगन गर्ने तथा वातावरणमैत्री र नमुना बस्ती निर्माणका लागि योजना कार्यान्वयन भइरहेको बताउनुभयो।

कुमारी मार्गमा सहज आवतजावत

अनुगमन टोलीले कुमारी मार्गको पनि निरीक्षण गरेको थियो। उक्त मार्गमा ब्लक बिछ्याउने कार्य सम्पन्न भइसकेको छ भने साइडवालमा आकर्षक रङरोगन गरी मार्गलाई व्यवस्थित बनाइएको छ।

कुमारी मार्ग महिला टोलकी अध्यक्ष मेलिमा बजगाई उप्रेतीले विगतमा हिलो र अव्यवस्थित सडकका कारण आवतजावतमा निकै समस्या हुने गरेको स्मरण गर्दै अहिले ब्लक बिछ्याइएपछि दैनिक यात्रा सहज र सुरक्षित बनेको बताउनुभयो। उहाँले वडाको पहलप्रति खुशी व्यक्त गर्दै जनप्रतिनिधिलाई धन्यवाद दिनुभयो।

सिर्जन मार्गमा स्थानीयको सकारात्मक प्रतिक्रिया

मैजुवहालस्थित सिर्जन मार्गको अनुगमनका क्रममा स्थानीयवासी पविन पण्डित, सविन पण्डित र शम्भु गिरीलगायतले जनप्रतिनिधिसँगै सडकको निरीक्षण गर्नुभएको थियो। उहाँहरूले सडक स्तरोन्नतिपछि आवतजावत थप सहज, सुरक्षित र व्यवस्थित भएको प्रतिक्रिया दिनुभयो।

सुनगाभा मार्गमा ढुङ्गा बिछ्याउने कार्य जारी

हाल निर्माणाधीन सुनगाभा मार्गमा ढुङ्गा बिछ्याउने कार्य तीव्र गतिमा भइरहेको छ। स्थानीय चन्द्रसिंह लामा र प्रकाश पन्तले वडा कार्यालयको पहलमा दीर्घकालीन सोचका साथ गुणस्तरीय ढुङ्गा बिछ्याउने काम भइरहेको बताउनुभयो। कार्य सम्पन्न भएपछि सडक दशकौँसम्म टिकाउ हुने विश्वास व्यक्त गर्दै उहाँहरूले वडा जनप्रतिनिधिप्रति आभार व्यक्त गर्नुभयो।

बंगलामुखी क्षेत्रको समेत निरीक्षण

अनुगमनका क्रममा बंगलामुखी मन्दिर आसपासका मार्गहरूको निरीक्षण गर्नुका साथै बंगलामुखी सेवा भवनको अवस्थाबारे समेत अवलोकन गरिएको थियो। स्थानीय पूर्वाधारको गुणस्तर, उपयोगिता र आवश्यक सुधारका विषयमा जनप्रतिनिधिहरूले सरोकारवालासँग छलफल समेत गरेका थिए।

वडा नं. ७ मा भइरहेको सडक स्तरोन्नति, सौन्दर्यीकरण तथा पूर्वाधार विकासका कार्यहरूले स्थानीयवासीको दैनिकी सहज बनाएको छ। नागरिकहरूले विकास निर्माणका कामलाई सकारात्मक रूपमा लिँदै आगामी दिनमा पनि यस्ता जनमुखी कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका छन्।

प्रकाशित मिति : २०८३, २१ जेष्ठ बिहिबार ००:००  ६ : ५३ बजे