ओखलढुंगाको सुनकोशी गाउँपालिकाले राजधानी काठमाडौंमा सञ्चालन गरेको दुईदिने सामाजिक सुरक्षा परिचयपत्र दर्ता तथा नवीकरण शिविरबाट ४०५ जना सेवाग्राही प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।
राजधानी तथा आसपासका क्षेत्रमा बसोबास गर्ने गाउँपालिकाका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य लाभग्राहीलाई गाउँसम्म पुगेर सेवा लिनुपर्ने झन्झट र अतिरिक्त खर्चबाट राहत दिने उद्देश्यले गाउँपालिकाले साउन ९ र १० गते काठमाडौंको सुकेधारास्थित दुर्गा पार्टी प्यालेसमा शिविर सञ्चालन गरेको हो।
शिविरमार्फत सामाजिक सुरक्षा परिचयपत्र नवीकरण, व्यक्तिगत घटना दर्ता तथा राष्ट्रिय परिचयपत्र वितरणलगायतका सेवा एकै स्थानबाट उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ।
शिविरमा सामाजिक सुरक्षा भत्ता नवीकरण सेवा मात्रै २८९ जनाले लिएका छन्। नवीकरण गर्नेहरूमध्ये अन्य ज्येष्ठ नागरिक १६३, दलित ज्येष्ठ नागरिक ५, ६० वर्षमाथिका एकल महिला २५, विधवा ४४, ‘क’ वर्गका अपाङ्गता भएका व्यक्ति २९, ‘ख’ वर्गका अति अशक्त अपाङ्गता भएका व्यक्ति १९ तथा दलित बालबालिका ४ जना रहेका छन्। साथै अन्य जिल्ला तथा गाउँपालिकाका १७ लाभग्राहीले पनि भत्ता नवीकरण सेवा लिएका छन्।
त्यसैगरी, शिविरबाट ४८ जनाले व्यक्तिगत घटना दर्ता सेवा प्राप्त गरेका छन् भने ५१ जनाले जिल्ला प्रशासन कार्यालयबाट प्राप्त राष्ट्रिय परिचयपत्र वितरण सेवा लिएका छन्। सबै सेवा गरी कुल ४०५ जनाले प्रत्यक्ष लाभ प्राप्त गरेको गाउँपालिकाले जनाएको छ।
शिविरमा गाउँपालिकाका अधिकांश वडाध्यक्ष, जनप्रतिनिधि, वडासचिव तथा विभिन्न शाखाका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो। सेवा लिन आएका लाभग्राहीहरूले काठमाडौंमै सहज रूपमा आवश्यक सेवा प्राप्त गर्न पाएको भन्दै गाउँपालिकाको पहलको प्रशंसा गरेका छन्।











