काठमाडौं महानगरपालिका वडा नं. ७ अन्तर्गत गङ्गाहिटी हाइट र चुच्चेपाटी शान्ति गोरेटो क्षेत्रमा अविरल वर्षापछि गएको पहिरोका कारण घर, सडक तथा सार्वजनिक संरचनामा जोखिम बढेपछि काठमाडौं महानगरपालिका र वडा नं. ७ कार्यालयले अस्थायी संरक्षण कार्य सुरु गरेका छन्।
यसअघि गएको पहिरोका कारण गङ्गाहिटी हाइट र चुच्चेपाटी शान्ति गोरेटो क्षेत्रका केही घरहरू धरापमा परेका थिए। साथै, प्रहरी प्रभाग गङ्गाहिटी पछाडिको क्षेत्र र ॐ हेल्थ कलेज, शान्ति गोरेटोको कम्पाउण्ड वाल भत्किनुका साथै ढलान गरिएको सडकसमेत जोखिममा परेको थियो।
जोखिम न्यूनीकरणका लागि काठमाडौं महानगरपालिकाले नगर प्रहरी, वडा नं. ७ को विपद् व्यवस्थापन टोली, वडा अध्यक्ष विमल कुमार होडा तथा स्थानीयवासीको सहकार्यमा प्रभावित क्षेत्रमा अस्थायी संरक्षण कार्य सुरु गरेको छ। यसअन्तर्गत खुला जग्गाबाट माटो ल्याई बोरामा भरिएको छ भने ती बोराहरू जोखिमयुक्त स्थानमा राखेर थप पहिरो जानबाट रोक्ने प्रयास गरिएको छ।
वडा नं. ७ की महिला जनप्रतिनिधि रुपा थापा क्षेत्रीका अनुसार लगातार परेको वर्षाका कारण बस्तीमा जोखिम बढ्न थालेपछि तत्काल अस्थायी संरक्षणको काम अघि बढाइएको हो। उहाँले वर्षा नरोकिएसम्म थप जोखिम कायम रहने भएकाले तत्कालका लागि क्षति न्यूनीकरण गर्ने उद्देश्यले यो कार्य सञ्चालन गरिएको जानकारी दिनुभयो।
महानगरपालिकाले प्रभावित क्षेत्रको निरन्तर अनुगमन गरिरहेको जनाएको छ। साथै, स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन, जोखिमयुक्त स्थानमा अनावश्यक आवतजावत नगर्न तथा सम्बन्धित निकायले जारी गर्ने सूचनाको पालना गर्न आग्रह गरेको छ।











