२०८३, १७ श्रावण आइतबार | Sun Aug 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्मल पुर्जाको निधनप्रति बेलायती राजकुमारले गरे दुःख व्यक्त



पाकिस्तानको ब्रोड पिकमा गएको हिमपहिरोमा परी विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जाको निधन भएपछि बेलायती राजपरिवारका सदस्य राजकुमार विलियमले गहिरो दुःख व्यक्त गरेका छन् ।

ब्रिटिस विशेष सैन्य बलका पूर्व सदस्यसमेत रहेका निर्मल पुर्जा विश्वका महान् पर्वतारोहीहरूमध्ये एक तथा साँचो अर्थमा अद्वितीय व्यक्ति भएको उल्लेख गर्दै प्रिन्स अफ वेल्स राजकुमार विलियमले उनलाई श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

राजकुमार विलियमले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “निर्मल पुर्जा र ब्रोड पिकको हिमपहिरोमा परी ज्यान गुमाउनेहरूको दुःखद निधनको खबरले म अत्यन्त दुःखी भएको छु ।”

उनले अगाडि लेखेका छन्, “निम्सले नेपाली पर्वतारोहीहरूलाई विश्वसामु चिनाउनुअघि ब्रिटिस सशस्त्र बलमा विशिष्ट सेवा गर्नुभएको थियो । असम्भवजस्तै देखिने लक्ष्यलाई निरन्तर पछ्याउने उहाँको साहस, विनम्रता र निस्वार्थ भावनाले उहाँलाई साँचो अर्थमा अद्वितीय बनाएको थियो । मेरो समवेदना उहाँको परिवार तथा ज्यान गुमाउने सबैका परिवारप्रति छ ।”

’निम्स’ नामले परिचित ४३ वर्षीय पुर्जा पाकिस्तानको काराकोरम हिमशृङ्खलामा रहेको विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिकमा १० सदस्यीय आरोहण टोलीको नेतृत्व गरिरहेका बेला बिहीबार गएको हिमपहिरोमा परेका थिए ।

पुर्जाको निधनको पुष्टि उनले सह–स्थापना गरेको कम्पनी एलाइट एक्स्पेडिसनले गरेको हो । कम्पनीले हिमपहिरोमा परेका उक्त आरोहण टोलीका अन्य सदस्यहरू पनि जीवित नरहेको जनाएको छ । यसअघि अल्पाइन क्लब अफ पाकिस्तानले पनि टोलीका कुनै सदस्य जीवित नरहेको पुष्टि गरेको थियो ।

प्रकाशित मिति : २०८३, १७ श्रावण आइतबार ००:००  ४ : ५३ बजे