२०८१, ६ जेठ आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काेराेना भगाउन गुर्जाे बाँड्दै बनेपाका युवा


२०७७, १५ भाद्र सोमबार ००:००  

0
Shares

काभ्रेपलाञ्चोक । कुनैबेला बिहान र बेलुकाको समय घुमफिरमा बिताउँदै आएका बनेपा नगरपालिका–१० जनागालका मुक्ति विष्टलाई अहिले भने गुर्जो वितरण गर्न भ्याइनभ्याइ छ ।

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि अग्रपङ्क्तिमा खटिने काभ्रेपलाञ्चोक र भक्तपुरका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जनप्रतिनिधिलाई निःशुल्क गुर्जो वितरण गर्न अचेल उनी व्यस्त छन् । यसका लागि उनले अभियान नै चलाएका छन् ।

गुर्जोको सेवनले मानिसको रोग प्रतिरोधात्मक शक्ति बढाउने भएकाले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि अग्रपङ्क्तिमा खटिने काभ्रेपलाञ्चोक र भक्तपुरका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, जनप्रतिनिधि र कर्मचारीलाई निःशुल्क वितरण अभियान थालिएको उनले बताए ।

त्यहाँका केही युवाको साथ लिएर विगत ५ दिनदेखि यो अभियान सञ्चालन गरेको सामाजिक अभियन्ता विष्टको भनाइ छ ।

उनका अभियानमा बनेपाका रविन्द्र देउजालगायत युवाले साथ दिएका छन् । आयुर्वेदिक चिकित्सकका अनुसार गुर्जोको नियमित सेवन गरेमा मधुमेह, उच्च रक्तचाप, थाइराईड भएका बिरामीलाई निकै फाइदा गर्छन् ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा पाँच बोरा गुर्जो वितरण गरेर अभियानको सुरुवात गरेका विष्टले उक्त गुर्जो नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र अनुसन्धान कार्यालयमा वितरण गर्ने गरी प्रदान गरिएको बताए ।

उनले बनेपा नगरपालिकाद्वारा सञ्चालित आइसोलेसन कक्षमा उपचाररत कोरोना सङ्क्रमितका लागि ५० किलो र साँगा प्रहरी पोष्टमा २५ किलो गुर्जो वितरण गरेको बताए ।

यस्तै, बनेपास्थित बाल अपाङ्ग अस्पतालमा ६० किलो, जनागालस्थित हङ्सदा योग आश्रममा ५० किलो, नेपाल प्रहरी स्कुल साँगामा ३५ किलो र धुलिखेल नगरपालिकाको कार्यालयमा ४० किलो गुर्जो वितरण गरिएको छ । भक्तपुरको जगाती र दुवाकोट प्रहरी पोष्टमा पनि ४० किलो गुर्जो वितरण गरिएको अभियन्ता विष्टको भनाइ छ ।

सुरुमा आफ्नो अभियानप्रति ‘खिल्ली’ उडाउनेले नै वितरण अभियान जारी राख्दा अहिले ‘बधाई’ दिन थालेको विष्टले बताए । उनले वितरण गर्ने मात्र नभइ गुर्जेको उपभोग, फाइदा र यसको खेतीबारे पनि सिकाउँदै आएका थिए ।

असन्तुलित खानपान, जीवनशैली लगायतका कारण दिनप्रति दिन रोगीको सङ्ख्या बढ्दै गएका बेला गुर्जोको उपयोगिता बढ्न थालेको छ ।

समान्य रुघाखोकीदेखि मधुमेह, उच्च रक्तचाप, मुटुलगायत रोगीका लागि गुर्जो सञ्जिवनी बुटी मानिने गरिन्छ । कारोना कहरबाट जोगिन रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि गुर्जोको उपयोगिता अझै बढेको उनको भनाइ छ । रासस

प्रकाशित मिति : २०७७, १५ भाद्र सोमबार ००:००  १० : १६ बजे