२०८१, ५ जेठ शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कडा सुरक्षाबीच तानियो रातो मच्छिन्द्रनाथको रथ



काठमाडौं । ललितपुरको पुल्चोकमा आइतबार कडा सुरक्षाबीच रातो मच्छिन्द्रनाथको रथ तानिएको छ । यसअघि तय भएअनुसार नेवार समुदायले तोकेका स्वयंसेवकहरुले कडा सुरक्षा घेराका बीच रथलाई तोकिएको स्थानसम्म तानेका हुन् ।

प्रहरीले रथ तान्नु अघि नै ललितपुर प्रवेश गर्ने सबै नाका सिल गरेको थियो । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ दिउँसो ३ बजेपछि तानिएको हो । यस वर्ष मच्छिन्द्रनाथ रथयात्रा गरेर विगतका वर्षझैँ गाःबहाल हुँदै मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल पुर्याउन सम्भव नदेखिएसँगै रथलाई आज ललितपुर महानगरपालिका अगाडिको सोह्रखुट्टे पाटीसम्म तानेर राखिएको हो । अब विशेष पूजाविधि पूरा गरेर भदौ २६ गते बुङमतीमा लगिने छ ।

आइतबार बिहानैदेखि १९ औं जातीय खलः पुचःका १५० स्वयं सेवक खटाएर रथको मर्मत सम्भार गराउनका साथै रथ तान्ने व्यवस्थापनसमेत गरिएको थियो । रथ तान्न १९ जातीय खलका मानिसका साथै पाटन टोलका चारदेखि पाँच मानिस सहभागी भएका थिए ।

विगतका वर्षझैँ यस वर्ष टोलटोलमा रथयात्रा गर्न नसकेकाले शनिबार र शुक्रबार देशमा कुनै अनिष्ट नहोस् भनेर क्षमापूजा गरिएको थियो । यसअघि गत बिहीबार स्थानीयले प्रशासनको अनुमतिबिनै रथ तान्न थालेपछि प्रहरीसँग झडप भएको थियो। प्रहरीले रथ तान्न रोक लगाउने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको थियो ।

त्यस क्रममा चार प्रहरी र केही स्थानीय घाइते भएका थिए। प्रहरीमाथि कुटपिट गर्ने स्थानीयलाई पक्राउ गरेर शान्तिविरुद्धको कसुरमा मुद्दा अगाडि बढाइएको छ ।

प्रकाशित मिति : २०७७, २१ भाद्र आइतबार ००:००  ७ : ४८ बजे