२०८१, ५ जेठ शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

परीक्षाबाट प्रधानाध्यापक छनोट, काम नगरे पाँच हजार जरिवाना



रुकुम । पहिलोपटक रुकुमपश्चिमको चौरजहारी नगरपालिकाले प्रधानाध्यापक परीक्षामार्फत छनोट गरेको छ । छनोट भएका प्रधानाध्यापकले तोकिएको काम गर्न नसकेमा रु पाँच हजार जरिवानासमेत तिनुपर्ने नियम बनाइएको छ ।

नगरभित्र रहेका ३७ विद्यालयमध्ये ३० विद्यालयमा परीक्षामार्फत प्रधानाध्यापक छनोट गरी भदौ २६ गते नियुक्ति दिन लागिएको छ । विद्यालय विकास प्रस्ताव, त्यसको प्रस्तुतीकरण र समूह छलफलका आधारमा प्रअ छनोट गरिएको नगरप्रमुख विशाल शर्माले जानकारी दिए ।

सबै प्रधानाध्यापकलाई पाँच वर्षका लागि करार सम्झौता हुने नगरप्रमुख शर्माले जानकारी दिए । सम्झौताअनुसार न्यूनतम काम नगरे बर्खासीको बाटो पनि खुलै राखिएको छ । प्रधानाध्यापकले साविकको प्रधानाध्यापकले भत्ताको २०० प्रतिशत थप भत्ता पाउनेछन् । प्रधानाध्यापक छनोट हुनेमा स्थायी, अस्थायी, राहत तथा करारमा नियुक्त भएकासमेत छन् ।

प्रधानाध्यापकले नगरपालिकासित पहिलो चरणमा एक वर्षको करार सम्झौता गर्नेछन् । एक महिना, तीन महिना र एक वर्षमा गर्नुपर्ने काम उक्त सम्झौतामा उल्लेख हुनेछ । हरेक एक महिना, तीन महिना र १२ महिनामा गर्नुपर्ने काम नगरेको खण्डमा प्रधानाध्यापकबाट हट्नुपर्ने र रु पाँच हजार जरिवाना तिर्नुपर्ने छ ।

विभिन्न मापदण्डका आधारमा नगरपालिकाले प्रधानाध्यापकको कामको मूल्याङ्कन गर्ने छ । मूल्याङ्कनमा कम्तीमा ५० अङ्क ल्याउनुपर्ने छ ।

मूल्याङ्कनका आधारमा ८० प्रतिशत बढी नतिजा ल्याउने प्रधानाध्यापकलाई ५० प्रतिशत भत्ता थप हुने छ । नगर शिक्षा नियमावली–२०७४ को दोस्रो संशोधन, २०७७ अनुसार प्रधानाध्यापक नियुक्तिको प्रक्रिया अघि बढाइएको नगरप्रमुख शर्माले बताए ।

नगर शिक्षा ऐनअनुसार प्रधानाध्यापक छनोट गरिएको भन्दै उनले सङ्घीय शिक्षा ऐनअनुसार मापदण्डका आधारमा प्रधानाध्यापकको परीक्षा लिइएको जानकारी दिए ।

प्रकाशित मिति : २०७७, २२ भाद्र सोमबार ००:००  १० : २९ बजे