काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञा खुकुलो पार्दै यातायात सञ्चालनमा जोरबिजोर प्रणाली लागू गर्न काठमाडौं उपत्यकाको नगरपालिका फोरमले माग गरेको छ । मङ्गलबार बसेको फोरमको बैठकले सार्वजनिक यातायात बाहेकको सवारी सञ्चालनमा जोरबिजोर लागू गर्न स्थानीय प्रशासनलाई सुझाव दिएको हो ।
निषेधाज्ञा खुकुलो बनाउँदा सुरक्षा सतर्कता र स्वास्थ्य सुरक्षा मापदण्ड कार्यान्वयनमा भने कडाइ गर्नुपर्ने निष्कर्ष निकालेको फोरममा सचिव तथा मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । उनका अनुसार काठमाडौं भित्रिने र बाहिरिने नाकाको आवागमनमा थप कडाइ गर्नसमेत सरकारलाई सुझाव दिइएको छ ।
नेपाल प्रहरी शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका काममा समेत सहभागी हुनुपर्ने भएकाले नाकाको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिनुपर्ने फोरमको निष्कर्ष रहेको समेत उनले जानकारी दिए ।












