२०८१, ५ जेठ शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निषेद्याज्ञामा पार्टी प्रवेश : नेता आईसोलेसनमा, कार्यकर्ता त्रासमा



संक्रमितकाे सम्पर्कमा रहेका सबैकाे स्वाब परीक्षण असम्भव

ओखलढुंगा । ओखलढुंगामा निषेद्याज्ञाको समयमा पार्टीका गतिविधिमा संलग्न नेताहरुमा कोरोनाको संक्रमण पुष्टि भएपछि गाउँ गाउँमा त्रास बढेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणका जोखिमकै बिच लकडाउन र निषेद्याज्ञाको समयमा राज्यको नीति विपरित दलहरुले गाउँ–गाउँमा पार्टी प्रवेश सहितका कार्यक्रम सञ्चालन गरेका थिए । ति सबैजसो कार्यक्रममा सहभागी नेताहरुमा धमाधम कोरोना संक्रमण देखिन थालेपछि जिल्लामा त्रास बढेको हो ।

नेपाली कांग्रेस र नेकपाले जिल्लाका विभिन्न स्थानमा कोरोनाको कहरकै बिच चुनावी झल्को दिनेगरि पार्टीका भेला, छलफल, संगठन सुदृढिकरण र पार्टी प्रवेश जस्ता कार्यक्रम आयोजना गरेका थिए । त्यसरी आयोजना भएका कार्यक्रममा सहभागी नेताहरुमा धमाधम कोरोना देखिन थालेपछि समुदायस्तरमा संक्रमणको त्रास बढेको सिद्धिचरण नगरपालिका ९ का प्रकाश खड्काले बताए ।

पछिल्लो समय पार्टीका गतिविधिमा सकृय कांग्रेस जिल्ला सभापति प्रदिपकुमार सुनुवार, कांग्रेसका महासमिति सदस्य डिल्ली खनाललगायतका नेतालाई संक्रमण पुष्टि भईसकेको छ । उनिहरुको कन्ट्रयाक ट्रेसिङमा परेका अन्य नेताहरुको पिसिआर परिक्षण रिपोर्ट आईसकेको छैन । कांग्रेसका सभापति सुनुवार, नेता खनाल र जिल्ला समन्वय समिति सभापति जयबहादुर श्रेष्ठ सहितमा कोरोना संक्रमण पुष्टि भए सँगै उनीहरुको सम्पर्कमा रहनेहरुमा यतिबेला त्रासको अवस्था सिर्जना भएको छ ।

ज्यामिरेकी टिकामाया खड्का भाद्र १५ गते कांग्रेसमा प्रवेश गरिन् । गाउँमा तामझामका साथ भएको कार्यक्रममा पार्टी प्रवेश गरेकी उनलाई अहिले दिनमा भोक न रातमा निद्रा छ । पार्टीमा प्रवेश गराउन आएका अधिकांश नेतामा कोरोना देखिएपछि आफुलाई पनि रोग स¥यो कि भन्ने त्रास उनमा छ । ‘पार्टी प्रवेश कार्यक्रममा सहभागी भईयो, सबै नेताहरुको नजिक पनि गईयो, अहिले भटाभट नेताहरुलाई कोरोना लागेको सुनिन्छ, न हामीलाई पनि सरेको छ कि भन्ने चिन्ता भो’उनले भनिन्,‘हाम्रो पनि बेलैमा पिसिआर जाँच्न पाए हुन्थ्यो, न रोग सरेर गाह्रो हुन्छ कि पछि भन्ने डर छ ।’ रोगको डरले परिवार, आफन्त र गाउँमा समेत तनाव बढेको उनको भनाई छ ।

कोरोनाको कहरकै बिच १५ गते ज्यामीरेमा कांग्रेसको सदस्यता वितरण र पार्टी प्रवेश कार्यक्रम थियो । त्यो दिन स्थानीय ३२ जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । सबै नवप्रवेशीलाई नेताहरुले सिन्दुर र खादामाला लगाएर स्वागत मात्रै गरेका थिएनन् सबै एकैठाउँ बसेर सामुहिक फोटो समेत खिचाएका थिए ।

ज्यामीरेकी टिकामाया जस्तै पार्टी प्रवेशमा सहभागी हुने सबैजसो कार्यकर्तामा कोरोनाको त्रास बढेको छ । मानेभञ्ज्याङ गाउँपालिकामा झन वृहत पार्टी प्रवेश कार्यक्रम भएको थियो । त्यहाँ पनि जिल्लाका सबैजसो नेता सहभागि थिए । त्यस क्षेत्रमा पनि संक्रमणको त्रास छ ।

संक्रमण पुष्टि भईसकेका नेताहरु उपचारका लागि आईसोलेसनमा पुगेका छन् । अन्य नेता र संक्रमितको सम्पर्कमा आएका १०२ जनाको विहिबार स्वाब संकलन गरेर परिक्षणका लागि धुलिखेल पठाईएको छ ।

संक्रमितको कन्ट्रयाक ट्रेसिङ गरेर सम्पर्कमा आएका सबैको पिसिआर गर्नुपर्ने भनिएपनि जिल्लामा नेताहरुले धेरै मानिससँग भेटघाट गरेकाले सबैको स्वाब परीक्षण तत्काल सम्भव नहुने जिल्ला कमाण्ड पोष्टका फोकल पर्सन सुमन तिवारीले बताए । ‘नेताहरु गाउँ गाउँ डुलेर धेरैको सम्पर्कमा पुग्नुभएको रहेछ । नाम त धेरैको आएको छ तर एकै पटक सबैको स्वाब परिक्षण सम्भव छैन ।’ उनले भने, ‘पहिलो चरणमा केहीको स्वाब संकलन गरेर पठाएका छौं त्यसको नतिजाका आधारमा र शंका लागेमा वा लक्षण देखिएमा मात्रै अरुको स्वाब लिन सक्ने अवस्था छ ।’ स्रोतका अनुसार जिल्लामा हजार जना भन्दा बढीले नेताहरुको सम्पर्कमा रहेका कारण संक्रणको जोखिममा भएको भन्दै स्वाब परिक्षणका लागि नाम टिपाईसकेका छन् । नेताहरु संक्रमण देखिएसँगै उपचारमा जुटेपनि कार्यकर्ता र उनीहरुको सम्पर्कमा आएकाहरुको भने परीक्षणको दायराभित्र पर्ने पहुँच पुगेको छैन ।

कांग्रेसका नेताहरुमा कोरोना देखिएपछि नेकपाका नेताकाे पनि स्वाब परीक्षण गर्न जिल्लाबासीले माग गरेका छन् । नेकपाका शिर्ष नेताहरु पनि गाउँमा पुगेर पार्टी प्रवेश जस्ता कार्यक्रममा सहभागि भएका थिए । उनीहरुले स्वाब परीक्षण गराए नगराएको वा रिपोर्ट के आएको भन्नेबारे जानकारी दिएका छैनन् । नेकपाले पार्टी प्रवेश सहितका कार्यक्रम गरेका क्षेत्रमा पनि जोखिमको त्रास छ ।

समुदाय स्तरमा कोरोना फैलाउन पार्टीका कार्यक्रमहरुले भूमिका खेलेको नागरिकस्तरबाट आवाज उठेपनि दलहरुले कुनै धारणा सार्वजनिक गरेका छैनन् । कार्यकर्ता र सर्वसाधारणको कोरोना परिक्षणका लागि समेत दलहरुले पहल गरेका छैनन् ।

सामाजिक सञ्जालमा राजनीतिक पार्टीका कार्यक्रमले समुदाय स्तरमा कोरोनाको जोखिम बढाएको भन्दै चर्को आलोचना भईरहेको छ ।

राजनीतिक र सामाजिक काममा सकृय व्यक्तिहरुमा संक्रमण देखिएपछि जिल्लाभर उच्च सतर्कता अपनाईएको छ ।

प्रकाशित मिति : २०७७, २६ भाद्र शुक्रबार ००:००  ६ : ०१ बजे