काठमाडौँ । मोरङमा माछा पाल्ने पोखरीमा डुबेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । ग्रामथान गाउँपालिका–४ बनसखण्डीकी ३५ वर्षीय सीता अधिकारी, उनका १३ र ९ वर्षीया छोरीहरुको मृत्यु भएको हो ।
१३ वर्षीया छोरी पबित्रा र ९ वर्षीया कृतिका पोखरीमा डुबेपछि उद्धार गर्न गएकी सीताको पनि मृत्यु भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए ।
आइतबार दिउँसो माछा पाल्ने पोखरीमा सीताका दुई छोरी पसेका थिए । पोखरीको डिलमा कपडा खोलेर दुई छोरी पसेको देखिएको प्रहरीको दाबी छ । गहिरो पोखरीमा दुई छोरीहरु डुबेपछि उद्धारका लागि जाँदा डुबेर मृतु भएको हुनसक्ने प्रहरी निरीक्षक ढकालले बताए ।











