काठमाडौ। खाद्यव्यवस्था तथा ब्यापार कम्पनीले दशैंलाई लक्षित गर्दै यो वर्ष ३ हजार खसीबोका र च्याङ्ग्रा खरिद गर्ने भएको छ।
हरेक वर्ष सर्वसुलभ रुपमा विक्री गर्दै आएको संस्थानले यो वर्ष ३ हजार खसीरबोका र च्याङ्ग्रा खरिद गर्ने भएको हो।
यो दशैंका लागि १४ सय च्याङ्ग्रा र १६ सय खसीरबोका खरिद गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीका योजना विभाग प्रमुख शर्मिला सुवेदीले बताइन्।
यस पटक खाद्यले खसी बोका खरिदका लागि अनुमानित ५ करोड ९९ लाख ८६ हजार रुपैयाँ बजेट छुट्याएको छ। गत वर्ष सोही परिमाणको खसी–बोका तथा च्याङ्ग्राका लागि कम्पनीले कुल ५ करोड ९८ लाख ८२ हजार रुपैयाँ बजेट छुट्याएको थियो।
संस्थानले विगत वर्षहरु जस्तै यो वर्षपनि चामल, दाल, तेल जस्ता खाद्यवस्तु पनि विक्रि गर्ने भएको छ। यस्तै सहुलियत मूल्य पसल पनि सञ्चालन गर्ने उनले बताइन्। कहिलेबाट कहाँ कहाँ यस्ता पसल सञ्चालन हुने भन्नेबारे भने कम्पनीले अहिलेसम्म निर्क्यौल गरिसकेको छैन।












