काठमाडौं । दशैँ तथा तिहारको लागि आगामी कात्तिकबाट अग्रिम टिकट बुकिङ सुरु सम्भावना बढेको छ । कोरोना भाइरसको महामारीको कारण लामो समय बन्द रहेका कारण अधिकांश मानिसले काठमाडौं छोडिसकेकाले अहिले नै हतार गर्नु नपर्ने व्यवसायीहरुले बताएका छन् ।
शिक्षण संस्थाहरु समेत बन्द रहेको अवस्थामा विद्यार्थी तथा यात्रुको चाप अघिल्ला वर्षहरुमा जस्तो नहुने भन्दै ढिलोगरी टिकट बुकिङ खुलाएपनि सम्भव हुने नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले जनाएको छ । दसैंका लागि भने पूर्ण सिट क्षमतामा बस संचालन गर्न पाउनुपर्ने व्यवसायीहरुको माग छ ।
आधा क्षमतामा मात्र सवारीसाधन सञ्चालन गर्दा यात्रुको चाप बढ्ने भन्दै महासंघले पूर्ण सिट क्षमतामै बस सञ्चालन गर्न पाउनुपर्ने बताउँदै आएको छ । व्यवसायीहरुले सरकारले हवाई उडानलाई पूर्ण सिट क्षमतामा संचालन गर्न दिएपछि बसलाई रोक्नु नहुने उनीहरुको माग छ ।
चाडपर्वमा सार्वजनिक यातायात सञ्चालनका लागि यातायात व्यवस्था विभागले आइतबारका लागि बैठक बोलाएको छ । अग्रिम टिकट बुकिङ, कोरोना महामारीबाट सुरक्षित हुन अपनाइने मापदण्डलगायतका बारेमा छलफल गर्ने विभागले जनाएको छ ।












