काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालको पर्यटन क्षेत्रले गुणात्मक फड्को मार्ने बताएका छन् ।
विश्व पर्यटन दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मन्त्री भट्टराईले सुरक्षाका मापदण्ड अपनाउँदै पुनरुत्थानका कार्यक्रम गर्न अपिलसमेत गरेका छन् ।
सन्देशमा लेखिएको छ, ‘हरेक कालो बादलको क्षितिजमा चाँदीको घेरा हुन्छ भनेझैं निकट भविष्यमा नै यो महाव्याधी नियन्त्रणमा आउने छ, नेपालको पर्यटन क्षेत्रले गुणात्मक फड्को मार्ने छ र हाम्रा तत्कालीन एवं दीर्घकालीन लक्ष्यहरु हासिल हुनेछन् भन्ने विश्वासका साथ हामीले आन्तरिक तयारीलाई तीव्रता दिनुपर्ने हुन्छ ।’
उनले आगामी दिनमा जनता एवं सरोकार समुदायका सुझाव, विज्ञहरुको सिफारिसको आधारमा नवप्रवर्द्धन र विकास सम्बन्धी योजना तथा कार्यक्रमलाई उच्च महत्वका साथ कार्यान्वयन गर्ने पनि बताएका छन् ।
सन् १९७० सेप्टेम्बर २७ मा संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनको स्थापना भएपछि सोही दिनको सम्झनामा १९८० देखि प्रत्येक वर्ष विश्व पर्यटन दिवस मनाउन सुरु गरिएको हो ।












