काठमाडौँ । एसिड आक्रमणकमा परेका ४ जनाले रोजगारी पाएका छन् । ३ जना युवतीले कुमारी बैंकमा रोजगारी पाएका छन् भने आक्रमणबाट घाइते एक पुरुषलाई पनि महान्यायाधिवक्ताको कार्यालयले चालकमा करार नियुक्ति दिएको हो ।
हेटौंडाकी विन्दबासिनी कंसाकार तथा काठमाडौंमा बस्दै आएका जेनी खड्का र संगीता मगरलाई कुमारी बैंकले रोजगारी दिएको एसिड अपराध विरूद्ध क्रियाशिल उज्जवलविक्रम थापाले जानकारी दिए ।
तीनैजनालाई ‘मार्केटिङ अफिसर’को रुपमा रोजगारी दिलाएका बैंकले आजै तीनैजनालाई रोजगारी दिने सम्वन्धी पत्रमा हस्ताक्षर गर्न लागेको हो । असोज १ गतेबाटै गणना हुने गरी उनीहरुले रोजगारी पाएका हुन् । बैंकमा सुरुमा एक महिनाको करार र त्यसपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरेर स्थायी नियुक्ति दिइने एसिड अपराधविरुद्ध न्याय, पुुनस्थापना र कडा कानुनका लागि क्रियाशील सामाजिक अभियान्ता उज्ज्वलबिक्रम थापाले जानकारी दिए ।
सरकारले पनि एसिड आक्रमण गर्नेविरुद्ध बिहीबार नै अध्यादेशमार्फत् अधिकतम २० वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिवाना तथा उपचार खर्च निःशुल्क हुने गरी मन्त्रिपरिषदबाट कानुन पारित गरेको छ । अध्यादेश राष्ट्रपतिबाट जारी हुन बाँकी छ । पछिल्लो ७ वर्षमा मात्रै देशभर डेढ दर्जनमाथि एसिड आक्रमण भएको थियो ।
२०७७, ११ आश्विन आइतबार ००:००
0
Shares












